बर्दियामा दुग्ध परीक्षण यन्त्र सञ्चालनसँगै मर्मतसम्भार सम्बन्धीे तालिम
केशव कोईराला, ९ चैत्र, राजापुर -बर्दिया) । दूध परीक्षण यन्त्र -मिल्कएनालाइजर) सञ्चालन तथा मर्मतसम्भार सम्बन्धी ५ दिने तालिम बर्दियामा सम्पन्न भएको छ । केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडको आयोजना तथा राष्ट्रिय दुग्ध बोर्डको आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो ।
गुणस्तरीय दूध खरिद–बिक्री प्रयोजनका लागि प्रयोगमा आउने प्रविधि मिल्क एनालाइजरको अधिकतम एवं उचित प्रयोग होस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको जनाइएको छ । तालिममा लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया र बाँके जिल्लाका दुग्ध क्षेत्रसँग सम्बन्धित सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । तालिमले दूधको गुणस्तर परीक्षणलाई अझ प्रभावकारी, विश्वसनीय र प्रविधिमैत्री बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मि कुमारी अधिकारी केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा केन्द्रीय दुग्ध सहकारी संघका सञ्चालक सदस्य इन्द्र प्रसाद लुइँटेल, जिल्ला दुग्ध उत्पादक सहकारी संघ बर्दियाका अध्यक्ष पवन कुमार यादव र बाँकेका अध्यक्ष पुर्ण प्रसाद अधिकारी लगायतको सहभागीता थियो । सहभागीहरूले दूध उत्पादन, संकलन र बजारीकरण प्रक्रियामा गुणस्तर कायम गर्न मिल्क एनालाइजरको प्रयोग अत्यन्त आवश्यक रहेको बताएका छन् ।
तालिममा विज्ञ प्रशिक्षक कमल न्यौपानेले मिल्क एनालाइजर सञ्चालन गर्ने तरिका, दूधको गुणस्तर परीक्षणका मापदण्ड, यन्त्रको नियमित हेरचाह तथा सामान्य मर्मतसम्भारका विषयमा सहजीकरण गर्नुभयो । तालिमले सहकारीमार्फत दूध संकलन तथा बिक्री वितरण प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ । समापन कार्यक्रममा बोल्दै जिल्ला दुग्ध उत्पादक सहकारी संघ बर्दियाका कोषाध्यक्ष टिकाराम रेग्मीले दुग्ध क्षेत्रको विकास प्रर्वद्धनमा राज्यका तीन तहका सरकारले उच्च प्राथमिकतामा राखेर आगामी बजेट बनाउनु पर्ने खाँचो औल्याउँनु भयो ।
१७ °C काठमाडौं
Facebook Comments