बढैयातालका तीन सहकारी एकीकरण
दलबहादुर सुनार, ११ माघ, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ अन्तर्गत सञ्चालित तीनवटा सहकारी संस्था एक आपसमा एकीकरण भएका छन् । “मर्यादित सहकारी, समुन्नत समाज” भन्ने नारासहित कालिका बचत तथा ऋण सहकारी संस्था लि. कण्ठपुर, मिलन कृषक बहुमुखी सहकारी संस्था लि. मयूरवस्ती र बोर्डर विकास बहुउद्देश्यीय सहकारी संस्था लि. कण्ठपुर एकीकृत भएका हुन् ।
एकीकरणपछि बनेको संस्थामा ६ सय ३२ महिला र ५ सय २९ पुरुष गरी जम्मा १ हजार १ सय ६१ जना शेयर सदस्य रहेका छन् । सहकारी संस्थाका व्यवस्थापक दिपेन्द्र गैरेका अनुसार २०८२ मंसिर १५ गतेसम्म संस्थाको वित्तीय अवस्था अनुसार शेयर पूँजी १ करोड ९१ लाख ३६ हजार ९ सय रुपैयाँ, कुल बचत १० करोड १९ लाख ६ हजार ६ सय ८ रुपैयाँ रहेको छ भने कुल बजेट १६ करोड २० लाख ९१ हजार २ सय ४ रुपैयाँ पुगेको छ ।
एकीकरणको आवश्यकता र औचित्यबारे जानकारी गराउँदै एकीकरण कार्यदलका संयोजक मधुसुदन पौडेलले सहकारी क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, प्रविधिको विकास, नियामक निकायका निर्देशन तथा सदस्यलाई अझ प्रभावकारी, सुरक्षित र दिगो सेवा प्रदान गर्ने उद्देश्यले एकीकरणको आवश्यकता महसुस गरिएको बताउनुभयो । सोही अनुसार २०८२ मंसिर २१ गते बढैयाताल गाउँपालिकाको कार्यालयबाट एकीकरण पूर्व स्वीकृति लिई प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।
एकीकरणबाट पूँजी, जनशक्ति, प्रविधि तथा व्यवस्थापकीय क्षमतामा वृद्धि भई संस्थागत स्थायित्व कायम हुने र सेवा क्षेत्रभित्रका सदस्यहरूको आर्थिक उन्नयन हुने उद्देश्य रहेको अध्यक्ष पौडेलले बताउनुभयो । तीनवटै सहकारी संस्थाका सञ्चालक समिति तथा साधारण सभाबाट आवश्यक छलफल, निर्णय र सहमति प्राप्त गरी सम्बन्धित कानुनी प्रावधान, सहकारी ऐन, नियमावली तथा नियामक निकायको मार्गदर्शन अनुसार पारदर्शी, सहभागितामूलक र विधिसम्मत रूपमा एकीकरण प्रक्रिया सम्पन्न गरिएको उहाँको भनाइ छ ।
तीनवटै सहकारी संस्थाको साधारण सभाबाट प्राप्त अख्तियारीअनुसार एकीकरण कार्यविधि तयार गरी नियामक निकायबाट २०८२ पुस २० गते एकीकरण प्रमाणपत्र प्राप्त भएको जानकारी दिइएको छ । सोही अवसरमा शेयर सदस्य, स्थानीय सरकार र सरोकारवालाको उपस्थितिमा एकीकरण घोषणा सभा आयोजना गरिएको हो । एकीकरणपछि संस्थाको नाम कालिका मिलन बोर्डर बहुउद्देश्यीय सहकारी संस्था लि., बढैयाताल–८, कण्ठपुर, बर्दिया राखिएको छ । अर्को साधारण सभा नभए सम्मका लागि मधुसुदन पौडेलको अध्यक्षतामा ९ सदस्यीय तदर्थ सञ्चालक समिति र राजेश्वर थापा मगरको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति गठन गरिएको सहकारीले जनाएको छ ।
तदर्थ सञ्चालक समितिको उपाध्यक्षमा सुवादेवी अधिकारी, सचिवमा मोहनलाल रेग्मी, कोषाध्यक्षमा कमराज अधिकारी तथा सदस्यहरूमा पुष्पराज पौडेल, अग्नि प्रसाद पंगाली, कालुराम थारु, मित्रराज घिमिरे र अर्जुन थापा क्षेत्री रहनुभएको छ । लेखा सुपरिवेक्षण समिति सदस्यमा निर्मला आचार्य र रामप्रसाद काफ्ले रहनुभएको छ । वित्तीय स्थायित्व, दिगो विकास, बलियो पूँजी, सुरक्षित बचत तथा ऋण सेवा, नयाँ कार्यक्रम र पेशागत व्यवस्थापन मार्फत संस्थागत सुदृढीकरण गर्दै सदस्यहरूको आर्थिक तथा सामाजिक हित प्रवद्र्धन गर्ने लक्ष्यसहित एकीकरण गरिएको सहकारीले जनाएको छ ।
माघ १० गते शनिबार सहकारी संस्थाको सभाहलमा सम्पन्न एकीकरण घोषणा सभा तदर्थ सञ्चालक समितिका संयोजक मधुसुदन पौडेलको अध्यक्षता तथा बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, वडा नं. ८ का वडाध्यक्ष तेजनाथ पौडेल, साना किसान कृषि सहकारी संस्थाका केन्द्रीय सदस्य हरिबहादुर अधिकारी, सहकारी सञ्जाल बढैयातालका अध्यक्ष विष्णु लम्साल, भगवती दुग्ध उत्पादन सहकारीका अध्यक्ष इन्द्रप्रसाद लुइटेल, न्यायिक समिति बढैयातालका सदस्य दिल्लीप्रसाद गौतम लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वक्ताहरूले सहकारी एकीकरणलाई सकारात्मक र प्रशंसनीय कदम भन्दै सहकारीमा आर्थिक समस्या नआउने गरी सदस्यको आयआर्जन बढाउने योजनामा जोड दिनुपर्ने बताएका थिए । साथै सदस्यले उत्पादन गरेका कृषि वस्तुको बजारीकरण, विविधीकरणमा सहजीकरण तथा सहकारी शिक्षा मार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन तदर्थ सञ्चालक समितिका सचिव मोहनलाल रेग्मीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सुवादेवी अधिकारीले राख्नुभएको सहकारीले जनाएको छ ।
१७ °C काठमाडौं
Facebook Comments