राजापुरमा छाडा साँढे आतंक : ब्यवस्थापनमा ढिलाई भएसँगै आधा दर्जन स्थानीय घाइते
केशव कोईराला, १४ चैत्र, राजापुर -बर्दिया) । राजापुर नगरपालिका वडा नम्बर –८ धोबिनिपुर क्षेत्रमा छाडा गोरु -साँढे) को आतंक बढ्दै जाँदा स्थानीयवासी त्रसित बनेका छन् । पछिल्ला दिनहरूमा साँढेको आक्रमणका घटना बढेसँगै मानव सुरक्षामै चुनौती थपिएको छ ।
स्थानीयका अनुसार साँढेको आक्रमणबाट हालसम्म कम्तीमा आधा दर्जन व्यक्ति घाइते भएका छन् । घाइते हुनेहरूमा लक्षिराम चौलागाईं, भीम्मा आचार्य, गंगाराम आचार्य, कमल आचार्य, नवराज चौलागाईं र सदुराम अधिकारी रहेका छन् । घाइतेमध्ये केहीले स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइरहेको र केही सामान्य उपचारपछि घर फर्किएको जनाइएको छ ।
छाडा साँढे बस्तीभित्रै पस्ने, खेतबारीमा क्षति पु¥याउने र जथाभावी मानिसमाथि आक्रमण गर्ने क्रम बढेको स्थानीयवासीको गुनासो छ । विशेषगरी बिहान र साँझको समयमा आवतजावत गर्नसमेत जोखिम बढेको उनीहरू बताउँछन् । बालबालिका, ज्येष्ठ नागरिक तथा महिला बढी जोखिममा रहेको स्थानीयको भनाइ छ । समस्या समाधानका लागि यसअघि नै स्थानीयहरूले वडा कार्यालयमार्फत छाडा पशु व्यवस्थापनको माग गर्दै सिफारिस पठाएका थिए ।
सोहीअनुसार वडा कार्यालयले नगरपालिकामा औपचारिक रूपमा परिपत्रसमेत पठाइसकेको जनाएको छ । तर, नगरपालिकाबाट हालसम्म ठोस पहल नदेखिएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । स्थानीय युवा युबराज जैशीले पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको भन्दै गुनासो गर्नुभयो । हामीले धेरै पटक खबर ग¥यौं, तर समस्या जस्ताको तस्तै छ, उहाँले भन्नुभयो , अब ढिलाइ भयो भने ठूलो दुर्घटना हुन सक्छ
यस विषयमा वडा नं. ८ का अध्यक्ष राजेश थारुले नगर प्रमुख, पशु सेवा शाखा प्रमुख तथा गोडियाना प्रहरी चौकी लाई समेत छाडा पशु नियन्त्रणका लागि अनुरोध गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विहीबार साँढेलाई नियन्त्रणमा लिन प्रयास गरिए पनि सफल हुन सकेन । साथै लगातार तीन दिन लामो सार्वजनिक बिदा परेकाले व्यवस्थापनमा ढिलाइ भएको उहाले बताउनुभयो ।
आइतबारसम्ममा नियन्त्रणमा लिने तयारी भइरहेको छ, अध्यक्ष थारुले भन्नुभयो, सम्बन्धित निकायसँग समन्वय गरेर सुरक्षित तरिकाले व्यवस्थापन गरिनेछ । हाल धोबिनिपुर क्षेत्रका बासिन्दा त्रासपूर्ण वातावरणमा बस्न बाध्य भएका छन् । समस्या समाधानमा ढिलाइ हुँदा जनआक्रोश अझै बढ्ने देखिएको छ ।
१७ °C काठमाडौं
Facebook Comments