• २ फागुन २०८२, शनिवार
  • १० °C काठमाडौं
ति दुई झापड स्मृतिमा अझै ताजा छन् 

मुकुन्द अर्याल, २३ पुष, बर्दिया । अङ्ग्रेजी नयाँ बर्ष २०२६ को अघिल्लो दिन । अलि ढिला रात सम्म सुतिएनछ । टिभीको रिमोट चलाउदा चलाउदै रातको १२ पो बजेछ । तेत्तिकैमा मेसेन्जरमा अलर्ट आयो । राती १२ बजे मेसेज हेरे कुनै महिलाको रहेछ । “दर्शन सर हजुर ! यहाँलाई नयाँ बर्षको हार्दिक शुभकमना “मध्य रात अनि महिलाको मेसेज । आजभोली सामाजिक सन्जाल संबेदनसिल छन । भ्याट्टै लेखिहाल्न र बोलिहाल्न त्यो पनि महिलासङ्ग ! सोच्नै पर्छ । तेत्तिकैमा फेरि अर्को अलर्ट लेखिएको थियो सर चिन्नु भएन ? अब चाहिँ खुल्दुली लाग्यो । प्रोफाईल खोलेर हेरे । हेर्दै थिए । फेरि बज्यो । सर ! म हजुरको विद्यार्थी । हामीलाई हजुरले सात/आठमा म्याथम्याटिक्स पढाउनु भएको । उनले आफ्नो परिचय दिइन । अब चिने । एकछिन कुरा गरे । शुभकामना साटे ।

कुनै समय मैले बुटवलको एउटा प्राइभेट स्कुलमा पढाउथे । आइ.ए दोश्रो बर्ष परिक्षा दिएपछि मैले काम गर्न शुरु गरेको । सामान्यतया मानिसहरु आफ्नो तलब भन्दैनन । मैले तेतिबेला महिनाको रुपैया १६ सय तलब पाउँथे । तर पुग्थ्यो । कोठाभाडा, स्टोभमा मट्टीतेल र साप्ताहिक तरकारी हाटबजारलाई थामेको थियो । क्याम्पसमा स्कलरशिप पाउथे, फिस तिर्न पर्दैनथ्यो । किताबको लागि लाइब्रेरी छदै थियो । चामल, दाल, तेल घरबाट आउथ्यो । कहिलेकाँही घर जाँदा बाटो खर्च पाइहालिन्थ्यो । पढ्न म टाठै थिए । सरहरुले माया गर्ने । बाह्य ट्युसन फी तैले पर्दैन भनिदिन्थे । 

तेतिबेलाकै कुरा हो, स्थानिय तेहिकै साथीले मलाई समस्या परेको छ भनेर दुई÷चार हजार सापटी मागे । बर्दियातिरबाट हामी पढ्न जानेलाई जमिनदारकै छोरा÷छोरी ठान्थे । यिनीहरु सङ्ग हुन्छ भन्ने नै सोच्थे । हामीले पनि होइन किन नै भन्नू पर्यो र ? गजक्क पथ्र्यौ । मैले भर्खर क्याम्पसबाट स्कलरशिप पाएको थिए । रु दुई हजार । मैले त्यो दुई हजार तिनै साथीलाई दिए । पछि उनी डीभी परेर युएसए गए । नेपाल आउदा एकपटक भेट भयो । उनले पनि त्यो दुई हजार सम्झेनन मैले पनि मागिन । अहिले उनी उतैका स्थायी बासिन्दा हुन । 

शुभ कामना साटासाट गर्दै गर्दा थाहा भयो । उनी अहिले इन्जिनियर रहिछन । बसाई रहेछ युएसए । कुरै कुरामा उनले भनिन “त्यो झापट नपरेको भए सायद म यहाँ हुदैनथे होला सर । “उनले इन्जिनियर हुनुलाई भनिन या युएसए रहनुलाई मैले सोधिन । एक दिनको कुरा हो, मैले सात कक्षामा पढाउँदै थिए । हिजोको होमवर्क निकालेर डेस्क माथि राख्न भने । मैले दिनकै होमवर्क चेक गर्दैनथे । पढाउदै जाने क्रममा मैले सर्रर होमवर्क चेक गर्थे । सबैको क्षमता पहिल्यै आकिसकेको हुनाले यसो गर्दा सहज हुन्थ्यो । त्यो दिन उनले होमवर्क बिगारेकी रहिछन । 

सोद्धा उधोमुण्टो लगाएर उभिइरहिन मात्र । उनी क्लासकी मेधाबी छात्रा थिइन । अलि टाढो विद्यार्थीले सामान्य गल्ती गर्यो भने उसले अब पाउँछ भन्ने लगभग पहिल्यै अनुमान हुन्थ्यो । त्यो दिन मैले उनलाई गालामा राम्रै चड्कन दिए । चड्कन मात्र कहाँ हो र ! उनको कानमा लगाएको सुनको रिङ्ग कानबाट छुट्टियो र हरायो । सायद रिङ्ग राम्रो सङ्ग लागेको रहेनछ । फसाद त तेतिबेला पर्यो जब त्यो भेटिएन । एक त मैले विद्यार्थी पिट्नु नै गलत थियो अर्को तर्फ सुनको इयररिङ्ग हराउनु । मलाई अब डर लाग्यो ।  निश्चित थियो, अब जागिर गयो नभए गहना त तिर्नै पर्छ । १३ हजार रुपैया आना थियो सुन तेतिबेला । त्यो दिन कतैबाट कुनै कुरा आएन । अर्कोदिन स्कुल गए डराउदै । त्यो दिन पनि केही भएन । हप्ता दिन गयो । कुरा आएन । 

स्कुल प्रशासनमा त्यो कुरा पुगेनछ । उनका घरका अभिभावकले थाहा पाएपनि उनका घरका अभिभावकले स्कुलमा कम्प्लेन गरेनन । पछि उनका अभिभावकहरु भेट हुदा आदर साथ अभिबादन गर्थे । तेसपछि म ढुक्क भए । पछि म पढ्न काठमाण्डौ गए । स्कुल छोडे । उनले त्यहिबाट एसएलसी गरिन, इन्जिनियर बनिन र पछि युएसए गइछन । उनले गरेको झापडको कुरा तेहि थियो । पछि म पढाइ सकेर बर्दियानै फर्के । बिहानको समय +२ पढाउन थाले । दिउँसो मेरो स्थायी जागिर थियो । अब भने म समाजशास्त्र÷मानबशास्त्र पढाउथे । बिहानै ६ बजे म स्कुल पुग्थे । ६ः३० को कक्षा । एकदिन कक्षा भित्र पढाउन शुरु गरे । होमवर्क चेकको मेरो पुरानै स्टाइल । 

एउटा लक्का जवानले गर्दै नगरेको । आधा छाती देखाएर शर्ट, जिन्स पाइन्ट, झपुल्ल लामो कपाल अनि एउटा कापी । उठ भने र गालामा चट्काएँ । नपिट्नु पर्ने । पिटेपछि कस्तो कस्तो लाग्यो । क्षमा माग्न पनि शिक्षकको भित्र हुन्छ नि त्यो एउटा हो तेसले दिएन । घण्टी बज्यो निस्के । अर्को क्लास थियो, मलाई पढाउन मन लागेन । आज काम छ भनेर म घर हिडे । घर पुगेपछि मलाई डर लाग्यो । त्यो गाउँ देखि म मात्र होइन सबै डराउँथे । त्यही गाउँमा थियो स्कुल । अर्को दिन बिहान स्कुल जानू पर्यो । मलाई सधैको बाटो जान डर लाग्यो । 

बिहान मैले मोटर साइकलको हेण्डिल दायाँ मोडे । अर्कै बाटो लागे । क्लास छिरे । क्लास शान्त थियो । झ्यापुल्लको कपाल काटिएको थियो । शर्टमा पुरै टाँक लगाइएको थियो र हिजोको होमवर्क डेस्क माथि खोलिएको थियो । उ शान्त र अनुशासित थियो । दुबै बर्षका फाइनल रिजल्टमा उसको राम्रो नम्बर थियो । विद्यार्थीलाई पिट्नु या डर देखाउनु किमार्थ राम्रो होइन र गरिनु हुदैन । अब त समय फेरिएको छ । म आफै गर्दिन । म अहिले पनि शिक्षक हु । तर ती दुई झापड मेरो स्मृतिमा अझै ताजै छन ।

सम्बन्धित समाचार

Facebook Comments