भन्सार छली ल्याएको आरोपमा तोरी बरामद
केशव कोइराला, १५ चैत्र, बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको अवैध तोरी बरामद गरेको छ । प्रहरीका अनुसार गुलरिया नगरपालिका–११ अन्तर्गत भादापुरस्थित सीमा नाकाबाट भन्सार छलि चोरी पैठारी गरी ल्याइँदै गरेको तोरी नियन्त्रणमा लिइएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त अवैध सामान फेला पारेको जनाएको छ । बरामद गरिएको सामग्रीमा करिब ४५ क्विन्टल तोरी, ८ थान अटो -रिक्सा) र १ थान सुपर स्प्लेन्डर मोटरसाइकल रहेका छन् । उक्त सामानको अनुमानित बजार मूल्य करिब १६ लाख ८० हजार रुपैयाँ रहेको प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले जानकारी दिनुभयो ।
प्रहरीले अवैध सामान तथा सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय, गुलरिया पठाएको छ । घटनामा संलग्न रहेको आरोपमा ९ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा स्थानीय अटो चालक तथा मजदुरहरू रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१७ °C काठमाडौं
Facebook Comments