नेपालको राजनीतिक परिस्थिति र चुनावमा युवाको भूमिका
ईश्वर बिक, १३ माघ, बर्दिया । नेपालको वर्तमान राजनीतिक अवस्था गहिरो संक्रमणकालीन चरणबाट गुज्रिरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको लामो समय बितिसक्दा पनि राजनीतिक स्थायित्व, सुशासन, आर्थिक विकास र सामाजिक न्यायका क्षेत्रमा जनअपेक्षा अनुरूप उपलब्धि हाँसिल हुन सकेको देखिँदैन । बारम्बार सरकार परिवर्तन, दलहरूबीचको शक्ति–संघर्ष, नीति निर्माणभन्दा सत्ता व्यवस्थापनमा केन्द्रित राजनीति र दण्डहीनताको प्रवृत्तिले नागरिकमा निराशा बढाएको छ । यही निराशा, असन्तोष र विकल्पको खोजीबीच चुनावमा युवाको भूमिका झनै निर्णायक बन्दै गएको छ ।
नेपालको जनसांख्यिक संरचनाले युवालाई राजनीतिक परिवर्तनको केन्द्रमा राखेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार १८ देखि ४० वर्ष उमेर समूहका युवाहरू कुल जनसंख्याको करिब ४० प्रतिशत छन् । निर्वाचन आयोगका तथ्याङ्कले पनि मतदाता सूचीमा युवाको उल्लेखनीय उपस्थिति देखाउँछ । यसको अर्थ, यदि युवाले सचेत र सामूहिक रूपमा मतदान तथा राजनीतिक सहभागिता जनाए भने चुनावी नतिजा मात्र होइन, राजनीतिक दिशा नै परिवर्तन गर्न सक्ने शक्ति उनीहरूसँग निहित छ। तर यथार्थमा युवाको यो शक्ति पूर्ण रूपमा संस्थागत हुन सकेको देखिँदैन ।
यसको प्रमुख कारणमध्ये एक हो—मासको मनोविज्ञान । मासको मनोविज्ञान भन्नाले व्यक्ति भीडको हिस्सा बनेपछि तर्क, दीर्घकालीन सोच र तथ्य भन्दा भावना, आवेग र तत्कालीन प्रभावका आधारमा निर्णय गर्ने प्रवृत्ति बुझिन्छ । नेपाली चुनावी राजनीतिमा यो मनोविज्ञान बारम्बार देखिएको छ । परिवर्तनको नारामा बनेको लहर, सामाजिक सञ्जालमा सिर्जित छवि, लोकप्रिय भाषण र क्षणिक आक्रोशले मतदाताको निर्णय प्रभावित गर्ने गरेको छ । युवाहरू सूचना र प्रविधिमा पहुँच राख्ने समूह भए पनि, उनीहरू पनि कहिलेकाहीँ आलोचनात्मक सोचभन्दा लहरको प्रभावमा बग्ने गरेको देखिन्छ, जसले चुनावी निर्णयलाई कमजोर बनाउन सक्छ ।
पछिल्ला वर्षहरूमा देखिएको नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको उदय यही मासको मनोविज्ञानसँग प्रत्यक्ष रूपमा जोडिएको छ । पुराना दलप्रतिको असन्तोषका कारण युवाहरूले नयाँ विकल्पप्रति ठूलो आशा राखे । सुरुमा यी शक्तिहरूले सुशासन, पारदर्शिता, जवाफदेहिता र नयाँ राजनीतिक संस्कृतिको प्रतिबद्धता व्यक्त गरे, जसले युवा मतदातालाई आकर्षित ग¥यो । तर समय क्रममा केही नयाँ शक्तिहरूमा पनि पद, सत्ता र कुर्सी केन्द्रित प्रवृत्ति देखिन थालेको छ । आन्तरिक लोकतन्त्र कमजोर हुनु, निर्णय प्रक्रियामा सीमित व्यक्तिको वर्चस्व र आलोचना सहन नसक्ने व्यवहारले ‘नयाँ अनुहार तर पुरानै सोच’ भन्ने आलोचनालाई बल दिएको छ ।
दलीय व्यवस्थाका नकारात्मक पक्षहरू पनि नेपालको वर्तमान राजनीतिक संकटसँग गहिरो रूपमा जोडिएका छन् । सिद्धान्ततः दलीय व्यवस्था लोकतन्त्रको मेरुदण्ड मानिए पनि व्यवहारमा यसले प्रतिस्पर्धाभन्दा बढी ध्रुवीकरण, विचारभन्दा बढी गुटबन्दी र जनहितभन्दा बढी दलहितलाई प्रोत्साहन गरेको देखिन्छ । दलहरू नीति निर्माणको थलो बन्नु पर्नेमा शक्ति प्राप्ति र सत्ताको बाँडफाँडमा सीमित हुँदा लोकतान्त्रिक मूल्य कमजोर बनेको छ । समान विचार र क्षमताका व्यक्तिहरू पनि फरक दलमा आबद्ध भएको कारण संवादको सट्टा टकरावको राजनीतिमा फस्ने अवस्था सिर्जना भएको छ । यसले संसद, सरकार र स्थानीय तहलाई समेत प्रभावकारी निर्णय गर्न नसक्ने संरचनामा रूपान्तरण गरेको छ । नयाँ पार्टीहरूमा देखिएको यो ‘कुर्सी मोह’ ले युवामा पुनः निराशा जन्माउने खतरा बोकेको छ ।
यदि नयाँ राजनीतिक शक्तिहरू पनि पुरानै सत्तामुखी संस्कारमा सीमित भए भने युवाले राजनीति प्रति राखेको विश्वास क्रमशः क्षय हुँदै जान सक्छ । यसले युवालाई या त पूर्ण रूपमा उदासीन बनाउने या फेरि अर्को भावनात्मक विकल्प खोज्ने चक्रमा फसाउने सम्भावना रहन्छ । यस्तो अवस्था लोकतान्त्रिक प्रणालीका लागि दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन्छ । यस्तो सन्दर्भमा युवाको भूमिका केवल मतदाता भएर सीमित रहनु पर्याप्त हुँदैन । युवाले सचेत मतदाता, राजनीतिक निगरानीकर्ता र वैकल्पिक नेतृत्वको भूमिका एकसाथ निर्वाह गर्न आवश्यक छ । नीति, विचार र कार्यसम्पादनका आधारमा मतदान गर्नु, निर्वाचित प्रतिनिधिलाई निरन्तर प्रश्न र दबाबमार्फत उत्तरदायी बनाउनु, तथा आवश्यक परे प्रत्यक्ष राजनीतिमा प्रवेश गरी नयाँ संस्कार स्थापित गर्नु युवाको ऐतिहासिक जिम्मेवारी हो ।
यदि युवाको अपेक्षा निरन्तर बेवास्ता गरिँदै गयो भने भविष्यमा राजनीतिक अस्थिरता झनै गहिरिन सक्छ । मतदाता सहभागितामा गिरावट, राजनीतिक दलप्रति चरम अविश्वास, अतिवादी वा आवेगात्मक आन्दोलनको उदय र राज्य संयन्त्रप्रति विश्वास कमजोर हुँदै जानु जस्ता अवस्था देखा पर्न सक्छन् । साथै, बारम्बार नयाँ विकल्प खोज्ने तर संस्थागत विकासमा ध्यान नदिने प्रवृत्तिले राजनीतिक प्रणालीलाई स्थायी अस्थिरताको अवस्थामा पु¥याउन सक्छ । अन्ततः, नेपालको राजनीतिक भविष्य युवाको चेतना, निर्णय र सक्रियतासँग प्रत्यक्ष रूपमा गाँसिएको छ ।
राजनीतिक व्यवहारसम्बन्धी सिद्धान्तहरूले पनि युवा पुस्ता परिवर्तनको एजेन्ट हुने तथ्यलाई स्वीकार गरेका छन् । मासको मनोविज्ञानद्वारा निर्देशित राजनीति र कुर्सी मोहले भरिएको नेतृत्वले लोकतन्त्रलाई कमजोर बनाउने जोखिम रहन्छ, तर आलोचनात्मक सोच, नैतिकता र दीर्घकालीन दृष्टिकोणले निर्देशित युवा सहभागिताले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सक्छ । त्यसैले आजको आवश्यकता नयाँ पार्टी वा नयाँ अनुहारभन्दा पनि नयाँ राजनीतिक संस्कार हो, जसको नेतृत्व गर्ने सामथ्र्य युवा पुस्तासँग नै छ ।
मुख्य निष्कर्ष के हो भने, यदि युवाले भावनात्मक लहरभन्दा माथि उठेर तथ्य, नीति र संस्थागत सुधारलाई प्राथमिकता दिए भने नेपालको चुनावी राजनीति स्थायित्वतर्फ उन्मुख हुन सक्छ । अन्यथा, बारम्बार आशा र निराशाको चक्र दोहोरिँदै जानेछ, जसले राजनीतिक अस्थिरतालाई दीर्घकालीन रूप दिन सक्छ । त्यसैले चुनावमा युवाको भूमिका केवल सहभागिताको प्रश्न होइन, यो नेपालको लोकतान्त्रिक भविष्य सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारीसँग जोडिएको विषय हो ।
१७ °C काठमाडौं
Facebook Comments