बर्दिया राजापुर साँस्कृतिक माघ महोत्सव शुरु
केशव कोईराला, २९ पुष, राजापुर (बर्दिया) । “समृद्ध बर्दियाको प्रमुख आधार, कृषि पर्यटन ब्यापार, संस्कृति र पूर्वाधार” भन्ने मूल नाराका साथ बर्दिया राजापुर साँस्कृतिक माघ महोत्सव २०८२ बर्दियामा सुरु भएको छ । बर्दिया उद्योग वाणिज्य संघको आयोजना तथा राजापुर नगरपालिकाको संयोजनमा महोत्सव सुरु गरिएको छ ।
राजापुर नगरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि दिपेश थारुले महोतसवको औपचारिक उद्घाटन गर्नु भएको छ । बर्दिया उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मीको अध्यक्षतामा आयोजित महोत्सवले बर्दियाको कृषि उत्पादन, स्थानीय पर्यटन प्रवद्र्धन, मौलिक संस्कृति संरक्षण तथा पूर्वाधार विकासलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, थारु तथा अन्य जातजातिको मौलिक झाँकी, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, औद्योगिक तथा व्यावसायिक स्टलहरू, खेलकुद तथा मनोरञ्जनात्मक रमाइलो मेला कार्यक्रमहरू सञ्चालन हुनेछन् ।
आयोजकका अनुसार महोत्सवले स्थानीय किसान, उद्यमी र व्यवसायीलाई आफ्नो उत्पादनको बजार विस्तार गर्न अवसर प्रदान गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
उद्घाटन कार्यक्रममा राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढा, वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि सहभागी थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले माघ महोत्सव सफल बनाउन स्थानीय बासिन्दाहरुलाइ सक्रिय सहभागिता देखाउन आग्रह गरेका थिए ।
१० °C काठमाडौं
Facebook Comments