• २० चैत २०८२, शुक्रवार
  • १७ °C काठमाडौं
मापदण्ड प्रयोग नगरी पस्किएका सूचना धमाधम बिक्री 

राजेन्द्र प्रसाद धिताल, १६ चैत्र, बर्दिया । नेपाली संचारकर्मीहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घको चैत्र १६ गते ७१ औं स्थापना दिवस हो । लोकतन्त्र, मानव अधिकार, सूचनाको हक तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सर्वथा अग्रपंक्तिमा रहेर वकालत गर्ने नेपालको अग्रणी नागरिक संस्था नेपाल पत्रकार महासङ्घको स्थापना दिवसको यो गौरवमय दिनमा सर्वप्रथम नागरिक सर्वोच्चता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो जीवन अर्पण गर्ने ज्ञात अज्ञात सञ्चारकर्मी तथा नागरिक सहिदहरुप्रति भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । संचारकर्मीहरुको हक, हित, अधिकार तथा पेशागत सुरक्षाको सुनिश्चितताका लागि निरन्तर संघर्षरत गौरवशाली संस्था नेपाल पत्रकार महासङ्घको स्थापना दिवस नेपाली संचारकर्मीहरुको लागि उत्साह र उत्सवको दिन पनि हो । म यस अवसरमा सम्पूर्ण संचारकर्मी तथा सञ्चार क्षेत्रसग आबद्ध व्यक्ति एवम् संस्थाहरुलाई हार्दिक शुभकामना प्रकट गर्दछु ।

नेपाल पत्रकार महासङ्घ गर्विलो इतिहास र भरपर्दो भविष्य भएको नागरिक संस्था हो । यसको स्थापना विक्रम सम्वत २०१२ साल चैत्र १६ गते भएको थियो । यसका संस्थापक सभापति नेपाली लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष सन्त नेता कृष्णप्रसाद भट्टराई हुनुहुन्छ । स्थापना कालमा यो संस्था नेपाल पत्रकार सङ्घको रूपमा थियो । पछि विक्रम सम्वत २०५३ साल जेठ २९ गते यसलाई महासङ्घमा  रुपान्तरण गरिएको थियोे । देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई सङठित गर्दै व्यवसायिक नेतृत्व प्रदान गर्ने र श्रमजीवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण संचार क्षेत्रको विकासका लागि काम गर्नु महासङ्घको मूलभूत लक्ष्य एवम् दायित्व हो । 

लोकतन्त्र र पत्रकारिता एक अर्कासग अभिन्न छन । स्वतन्त्र पत्रकारिताको विकास तथा अभिव्यक्ति स्वतन्त्रताको प्रबद्र्धनका खातिर सवल लोकतान्त्रिक प्रणाली आवश्यक हुन्छ । लोकतान्त्रिक प्रणालीको सवलीकरणका लागि पनि सशक्त पत्रकारिता तथा सचेत नागरिक समाजको आवश्यकता हुन्छ । लोकतन्त्रविना पत्रकारिता जीवन्त रहदैन भने पत्रकारिता विना लोकतन्त्र पनि अपाङ्ग सावित हुन्छ । यस तथ्यलाई मनन गर्दै नेपालको पत्रकारिताले अखण्ड रुपमा लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरणका लागि संघर्ष गरेको छ । राणा शासन विरुद्धको संघर्षमा युगवाणी, जन्मभूमि, गोर्खाली, सर्चलाइट लगायतका पत्रिकामार्फत नेपालको लोकतान्त्रिक आन्दोलनले गति प्राप्त गरेको थियो । 

राणा शासनमा स्वतन्त्र पत्रकारिताको कुनै गुन्जायस थिएन । प्रवासबाट नेपालीहरुले लोकतन्त्रका लागि मिसन पत्राकारिता गरेका थिए । २००७ मा नेपालमा प्रजातन्त्रको उदय भयो । २००७ देखि ०१७ को दशकमा नेपालमा स्वतन्त्र पत्रकारिताको उल्लेखनीय विकास भयो । यही कालमा नै नेपाल पत्रकार सङ्घ जस्तो पत्रकारको अधिकार संरक्षण गर्ने संस्थाको जन्म भयो । ०१७ सालमा लोकतान्त्रिक प्रणाली  समाप्त गरियो । त्यसपछि फेरि नेपालमा पत्रकारको स्वतन्त्रता समाप्त भयो । मानव अधिकारको मूल स्तम्भ अभिव्यक्ति स्वतन्त्रतामाथि पूर्ण रूपमा अङ्कुश लाग्यो । पञ्चायती व्यवस्थाको ३० बर्षे शासन अवधिमा नेपाली पत्राकारिताले लोकतान्त्रिक व्यवस्थाको पुनस्थापनाको लागि संघर्ष गरेको छ । 

पन्चायतको तानाशाही व्यवस्थाका विरुद्ध नेपाली पत्रकारहरु मिसन पत्रकारका रूपमा कृयाशील भएर लडेको यथार्थ हाम्रो सामु छ । २०४६ को जन आन्दोलनलाई सफल बनाउन नेपाली पत्रकारिताको योगदान अविस्मरणीय छ । २०४७ सालपछि नेपाली पत्रकारिताले व्यावसायिकताको युगमा प्रवेश ग¥यो । ठूल्ठूला सञ्चारमाध्यम र सञ्चारगृहको स्थापना भएर पत्रकारिताले उद्योगको रूपमा फस्टाउने अवसर पायो । विडम्बना मुलुकमा २०४७ को सम्बिधान र प्रजातान्त्रिक व्यवस्था टिकाउ हुन सकेन । २०५२ सालबाट मुलुकमा माओवादी विद्रोहीहरुले सशस्त्र विद्रोहको प्रारम्भ ग¥यो । २०६२/०६३ सम्म चलेको विद्रोहको कालखण्डमा राज्य र विद्रोही दुबै पक्षबाट नेपाली पत्रकारिता प्रताडित हुन पुग्यो ।

यही पृष्ठभुमिमा तत्कालीन राजा ज्ञानेन्द्रले निरङ्कुश राजतन्त्रको अभ्यास गर्न थाल्नु भयो र स्वतन्त्र पत्रकारिताले जोखिम मोल्नु प¥यो । १० बर्षे सशस्त्र द्वन्द्वको समयमा होस् या राजाको निरङ्कुशतन्त्रको समयमा होस्, नेपाली पत्रकारिताले जिम्मेवार भएर लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर खबरदारी गरेको सुन्दर इतिहास छ । यस क्रममा नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासङ्घ र यसको नेतृत्वले निर्वाह गरेको भूमिका सर्वथा स्मरणीय छ ,स्तुत्य छ । लोकतन्त्रको मिसनमा होस् या व्यवसायिक पत्रकारिताको प्रबद्र्धनमा, नागरिक अधिकारको संरक्षणमा होस् या पत्राचारहरुको पेशागत हकहितको सुरक्षाका लागि होस् पत्रकार महासङ्घले हर्दम सडकदेखि वैचारिक मंचसम्म नेतृत्वदायी अग्रसरता देखाएको छ । 

त्यसैले नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास नेपाल पत्रकार महासङ्घको योगदान स्वर्णाक्षरले लेखिएको छ । यस प्रकारको गौरवले मण्डित संस्था नेपाल पत्रकार महासङ्घको बर्दिया शाखाको स्थापना भने २०४० सालमा भएको मानिन्छ । बर्दियाका अग्रज पत्रकार एवम् अधिकारकर्मी दिनेश श्रेष्ठका अनुसार बर्दियामा लोकतान्त्रिक आन्दोलनका अगुवा श्री नवीन चन्द शर्माको अध्यक्षतामा २०४० सालमा नेपाल पत्रकार सङ्घ बर्दिया शाखा गठन गरिएको थियो । शाखाको सचिवमा श्री दिनेश श्रेष्ठ र सदस्यमा चक्रपाणि शर्मा लगायत व्यक्तिहरू रहनु भएको कुरा पत्रकार श्रेष्ठले जानकारी दिनुभएको छ । बीचमा निष्क्रिय जस्तै रहेको यो संस्थाले २०४८ सालबाट जीवन्तता प्राप्त गरेको छ । 

बर्दियामा विष्णुप्रसाद तिमिल्सिना, ईश्वरी प्रसाद बस्याल, कमल पन्थी, युवराज श्रेष्ठ २ पटक, श्रीराम सिग्देल, राजेन्द्रप्रसाद धिताल २ पटक र यादव आचार्यले यसअघि नेतृत्व गरिसक्नु भएको छ । अहिले निर्मल घिमिरेको नेतृत्वमा महासङ्घ बर्दियाले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ । समयको परिवर्तनसगै पत्रकारिता अत्याधुनिक चरणमा प्रवेश गरेको छ । यतिबेला समयले पत्रकारिता गर्ने व्यक्ति र नेतृत्वसँग नयाँ कुराको अपेक्षा गरेको छ ।

अहिले प्रविधिको पहुँच र प्रभाव व्यापक बनेको छ । भ्रमपूर्ण सूचना र समाचारका बीचमा फरक छुट्याउन मुस्किल भएको परिस्थिती छ । मिथ्या सूचनाको भयावह प्रवाहले समाज अस्वास्थ बन्दैछ । समाजमा समाचारको मूल्य कमजोर बन्दैछ भने समाचारिय मापदण्डको अतिकति पनि प्रयोग नगरी पस्किएका सूचना बिक्री भैरहेका छन् । यस्तो परिस्थितीमा मूलधारको पत्रकारिता ओझेलमा परेको छ र समाजमा पत्रकारिता माथि नै प्रश्न उठ्ने पस्थिती बनेको छ । नेपाल पत्रकार महासंघ, संचारगृह तथा सरोकारवाला ब्यक्ति तथा संस्थाहरुले यतातिर गम्भीर भएर बहस गरेर परिणाममुखी निष्कर्षमा पुग्नु आवस्यक छ । भ्रष्टाचार र भ्रमका विरुद्ध सदाचार र तथ्यका पक्षमा हाम्रो संघर्ष खरो बन्नु परेको छ । स्वस्थ समाज निर्माण गर्न स्वच्छ पत्रकारिताको विकास गर्न सकौं महासंघको स्थापना दिवसमा हार्दिक शुभकामना । 

-धिताल बबई बहुमुखी क्याम्पस गुलरिया बर्दियाका सहप्राध्यापक एवं नेपाल पत्रकार महासंघ बर्दियाका पूर्व अध्यक्ष हुनुहुन्छ ।)

सम्बन्धित समाचार

Facebook Comments