• २१ वैशाख २०८३, सोमवार
  • १६ °C काठमाडौं
कालिका मिलन बोर्डर बहुउद्देश्य सहकारी संस्थाको अध्यक्षमा सुवेदी

दलबहादुर सुनार, २० वैशाख, बढैयाताल -बर्दिया) । कालिका मिलन बोर्डर बहुद्देश्य सहकारी संस्था लिमिटेड बढैयाताल ८ कण्ठ्पुर बर्दियाको अध्यक्षमा अर्जुन सुवेदी  निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको  विशेष साधारण सभा एवं प्रथम अधिवेशनबाट सुवेदीको नेतृत्वमा नौ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित भएको हो । 

बढैयाताल गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा भएको प्रथम अधिवेशनबाट उपाध्यक्षमा कृष्णबहादुर कार्की, सचिवमा कमलराज अधिकारी, कोषाध्यक्षमा निर्मला आचार्य, सदस्यहरूमा भवानी तिमिल्सिना, इन्द्रबहादुर भण्डारी, सुकमाया सुनार, जगबहादुर चौधरी, शोभादेवी अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक राजेन्द्र सिंह एल.सी.ले जानकारी दिनुभएको छ । 

यसैगरी लेखा संयोजकमा कृष्णप्रसाद गौतम, सदस्यमा मोहनलाल श्रेष्ठ र अनुशिला पौडेल पनि सर्वसम्मत निर्वाचित हुनुभएको संस्थाले जनाएको छ । साविक कालिका बचत तथा ऋण सहकारी संस्था लि. बढैयाताल गाउँपालिका ८ कण्ठपुर, साविक श्री मिलन कृषक बहुमुखी सहकारी संस्था लि. बढैयाताल ८ मयुर बस्ती र साविक बोर्डर विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड ८ कण्ठपुर बिच एकीकरण भई कालिका मिलन बोर्डर बहुउद्देश्य सहकारी संस्था लिमिटेड बडैयाताल गाउँपालिका ८ कण्ठपुर बर्दिया नामाकरण भएको हो ।

बढैयाताल गाउँपालिका वडा नं ८ मा रहेका तीनवटै सहकारी संस्था लिमिटेडको साधारण सभाबाट प्राप्त अख्तियारी अनुसार एकीकरण कार्यविधि तयार गरी नियामक निकायबाट मिति २०८२ पौष २० गते एकीकरणको प्रमाणपत्र प्राप्त भएको थियो । मिति २०८२ साल माघ १० गतेका दिन एकीकरण घोषणा सभा आयोजना गरिएको थियो । यस घोषणा सभा मार्फत एकीकृत संस्थाको नाम उद्देश्य कार्यक्षेत्र संगठनात्मक संरचना भावी कार्यदिशा तथा वित्तीय अवस्था औपचारिक रुपमा सार्वजनिक गरिएको संस्थाले जनाएको छ ।

तीन सहकारी एकीकरण पश्चात यस सहकारी संस्थामा महिला ६३२ जना र पुरुष ५२९ जना गरी जम्मा १ हजार १६१ जना शेयर सदस्य रहेका संस्थाले जनाएको छ । संस्था एकीकरण पश्चात् आईतवार भएको प्रथम अधिवेशनमा प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार २०८२ मङ्सिर १५ गतेसम्म नगदमा १० लाख ४ हजार ७ सय रुपैया ७ पैसा, बैंक मौजदातमा ४ करोड ३१ लाख ६६ हजार ३८९ रुपैया ३१ पैसा, ऋण लगानीमा १० करोड २३ लाख ७७ हजार ४४१ रूपैयाँ ७८ पैसा रहेको छ । त्यसैगरी बचततर्फ १० करोड १० करोड १९ लाख ६ हजार ६०८ रुपैया ३४ पैसा र शेयर पूँजीमा १ करोड ९१ लाख ३६ हजार नौ सय रुपैया रहेको संस्थाले जनाएको छ । 

नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष अर्जुन सुवेदीले तीन मिलेर एकीकरण भएको यो संस्थालाई बर्दिया जिल्लाको उत्कृष्ट सहकारीको रुपमा स्थापित गराउन  सहकारी सम्बन्धी ऐन, नीति तथा  कानुन, सहकारी नियमावलीको पालना गरिने बताउनुभयो । शेयर सदस्यहरूको आर्थिक समृद्धिको लागि र उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता भन्ने मूल नारालाई पूरा गर्नको निमित्त कुनै कसर बाँकी नराख्ने नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष सुवेदीले प्रतिबद्धता जनाउनुभएको छ ।

सम्बन्धित समाचार

Facebook Comments