भौराक्षेत्रमा तीव्र गति र मादक पदार्थ सेवनले बढाउँदैछ सडक दुर्घटना
पुरुषोत्तम खनाल, २७ भाद्र, बर्दिया । बर्दियाको भौरा क्षेत्रमा सवारी दुर्घटनाको सङ्ख्या बढ्दै गएपछि चेक जाँचमा कडाइ गरिएको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका रहेको भौरा क्षेत्रमा दिनानुदिन सडक दूर्घटना हुन थालेपछि दुर्घटना न्यूनीकरणका लागि अभियान शुरु गरिएको हो ।
चालकको व्यवहारदेखि ट्राफिक नियमको पालना कडाइ गर्नुपर्नेमा इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी होम प्रकाश चौधरीले जोड दिनु भएको छ । राजापुरको अस्थायी ट्राफिक प्रहरी पोष्ट र इलाका प्रहरी कार्यालयको तथ्याङ्कले दुर्घटनाको प्रमुख कारणमध्ये सवारी साधनको तीव्र गति मुख्य कारण रहेको देखाएको छ । राजापुरको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक विनोद शाहीले यो क्षेत्रमा दूर्घटनाको दर बढ्दो रहेको बताउनु भयो ।
हुलाकी सडकमा पर्ने भौरा क्षेत्रमा तीब्र गति र मापसे धेरै देखिएकाले मोटर साइकल, अटो तथा साना सवारी चालकहरु र साइकल तथा पैदल यात्रुहरुलाई पनि सूसुचित गर्ने गरेको जानकारी दिनु भयो । राजापुरको अस्थायी ट्राफिक पोष्टमा रहेको ब्रेथलाइजर मेसिन बिग्रेर चेकिङमा समस्या भए पनि शंकास्पद चालकको मुख सुघेर पनि जाँच हुने गरेको छ ।
मेसिन नगरपालिकासँग माग गरिएको र नआएकाले समन्वय भइरहेको बताउनु भयो । राजापुर नगरपालिका ८ का स्थानीय प्रेम चौधरीले बजार आउने जाने क्रममा चेकिङमा रहेका प्रहरीले मुख सुघ्दा आफुलाई नै अप्ठ्यारो लाग्ने गरेको वताउनु भयो । राजापुरको रेडियो साथी एफएमले राजापुर ट्राफिक प्रहरीको ब्रेथलाइजर मेसिन बिग्रेको समाचार प्रसारण गरेपनि सरोकारवालाको ध्यान पुग्न नसक्नु र अझै पनि मुख सुघेर चेक गर्नु दूर्भाग्यपूर्ण भएको समेत उहाँले बताउनु भयो ।
राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले बढ्दो दूर्घटना न्यूनीकरणका लागि स्थानीय सरकारले आवश्यक सहयोग गरेपनि प्रहरी कार्यालय संघीय सरकार मातहतमा रहेकाले बजेट छुट्याउँदा धेरै समस्या हुने गरेको बताउनु भयो । सडक दूर्घटना घटाउन हरेक वर्ष प्रहरीलाई आवश्यक पर्ने सामग्री स्थानीय सरकारले सहयोग गरेको र गत आबमा ब्रेथलाइजर मेसिनको माग नै नभएकाले उपलब्ध नगराएको र यस आ ब मा छुट्याइएको बजेटले मेसिनको खरिद हुने विश्वास व्यक्त गर्नु भयो ।
दुर्घटनाको सूक्ष्म विश्लेषण गर्दा अधिकांश घटनामा तीव्र गतिलाई प्रमुख कारणका रूपमा पाइएको प्रहरी सहायक निरीक्षक शाहीले बताउनुभयो । उहाँका अनुसार नाबालक, तीव्र गतिमा सवारी चलाउने, कागजपत्र नभएका चालकलाई सम्झाइ बुझाइ गर्ने र अटेरी गर्नेलाई कारबाही गर्ने गरिएको छ । दुर्घटनाको सङ्ख्या र कारबाहीमा पर्ने चालकको अवस्था हेर्दा तीव्र गति नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्ने देखिएकाले गति नियन्त्रणसँगै ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिएको ट्राफिक प्रहरी सहायक निरीक्षक शाहीको भनाई छ ।
२४ °C काठमाडौं
Facebook Comments