• २७ मंसिर २०८१, बिहिवार
  • ४ °C काठमाडौं
पालिकाहरुमा महोत्सवको होडबाजी, प्रतिफल शून्य 

मुरली गोडिया, ७ माघ, गुलरिया (बर्दिया) । चिसो मौसममा प्रायः मानिसहरु फुर्सदमा घरमै बसी दिन विताउने गर्छन् । कृषि क्षेत्रमा आधारित किसानहरु पनि आजभोली खासै व्यस्त छैनन । मजदुरी गर्नेहरु पनि चिसोमा खासै काम पाएका हुँदैनन । जसले गर्दा साथी भाई घरपरिवार संगै बसेर दिन काट्ने गर्छन् । यति बेला चारैतिर माघी पर्वलाई लक्षित गरि देशैभरका विभिन्न जिल्लाहरुमा मेला, महोत्सव तथा साँस्कृति कार्यक्रमहरुको आयोजना भैरहेका छन् । यस्तो लाग्छ कि मानौं मेला महोत्सव चाड पर्व नै हो । बर्दिया जिल्लामा पनि यस्को सरगर्मि निकै चढेको छ । बर्दियामा त झन् ८ ओटै पालिकामा विभिन्न मेला महोत्सवहरु संचालनमा रहे । 

सदरमुकाम गुलरियामा प्रादेशिक मेला पुष ६ गते देखी १६ गते सम्म संचालन भएर सकिएको छ अन्य संचालनमा रहेका ब्यापार महोत्सवहरु सकिने चरणमा छन् । माघे सङक्रान्ति तथा माघी पर्वको अवसर पारेर बर्दिया महोत्सवमय बनेको देखिन्छ । करिब ५२ प्रतिशत थारुजातीको बासोबास भएको यस जिल्लामा माघी पर्वलाई मध्यनजर गरी एउटै जिल्लामा ५ वटा संगसंगै महोत्सव संचालन भए । जसले गर्दा जिल्ला नै महोत्सवमय भएको भन्न कठिन नपर्ला । कृषि, उद्योग, व्यापार, जडिबुटी, स्थानिय उत्पादन, कला, संस्कृति, पहिचान बोकी ती मेला महोत्सवहरु संचालनमा छन् । पालिकाका विभिन्न महोत्सवहरु स्थानिय उद्योग बाणिज्य संघहरुले नै आयोजना गरेको देखिन्छ । विगतका महोत्सवमा हुने कार्यक्रमको प्रस्तुति तथा प्रदर्शनहरुले दर्शकको मन तान्ने खालका हुन्थे अहिलेका महोत्सवमा समेत दर्शकको मन तान्ने खालका प्रस्तुति नभएको भने होइन । तरपनि मेला महोत्सवमा दर्शकको उपस्थिती पातलिंदै गएको सहजै देख्न सकिन्छ । यसको मुल कारण विभिन्न पालिकामा छुट्टाछुट्टै मेला अयोजना हुनु र पालिका बीच समन्वयको अभाव पनि खट्किएको देखिन्छ ।  

बर्दिया जिल्लाको गुलरियामा पौष ६ गते देखि पौष १६ गतेसम्म महोत्सव सम्पन्न भएको छ भने थारु कल्याणकारिण सभाले माघ महोत्सव संचालन गरेको ३ दिने माघी महोत्सव सकिएको छ । त्यस्तै बढैयाताल गाँउपालिका, बाँसगढी नगरपालिका, राजापुर नगरपालिका, गेरुवा गाँउपालिकामा पनि मेला संचालन भएर समापनका क्रममा छन् । महोत्सवमा उद्घाटनका दिन मुख्यमन्त्री, मन्त्री, सांसदहरु आउने महोत्सवको उद्घाटन गर्ने अनि आफ्ना विचारहरु राख्ने स्थानीय झाँकी आ–आफ्नो भेषभुषा, कला सांस्कृति प्रर्दशन गर्ने, कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्ने, दर्शकहरुले राष्ट्रिय तथा स्थानीय कालाकारहरुको प्रस्तुती हेर्ने, विभिन्न स्थानीय झाँकी हेर्ने र मनोरञ्जन लिने, स्टलहरुमा विभिन्न कृषि उत्पादनका बस्तुहरु बेचबिखन गरिने, व्यापार व्यवसाय गर्ने कार्यहरु मेला महोत्सवका माध्यमबाट भैरहेका छन् ।

मेलाहरु संचालन हुनु भनेको जिल्लामा आर्थिक अवस्था चलायमान हुनु कासाथै स्थानिय उत्पादनको बजारीकरण, उत्पादनको पहिचान, कला संस्कृतिको प्रचार प्रसारसंगै अन्तराष्ट्रिय स्तरमै ती विषयहरुको चर्चा हुनुपर्ने हो । तर जिल्लामा खासै त्यसो भएको पाईंदैन । सक्ने मानिसहरु पैसा खर्चगरि मेला जाने कलाकारको प्रस्तुति हेर्ने रमाइलो गर्ने बाहेकको प्रगति देखिदैन । आफनै कला संस्कृतिको प्रदर्शन, आफनै कृषी उपजको प्रदर्शनी र आफनै जिल्लाका दर्शकको उपस्थितीमा हेरिने हुँदा बाहिरबाट कसले के सिकेर गयो अनि के किनबेच गरेर गयो भन्ने कुराको मुल्यांकन खासै भएको पाइदैन । यति मात्र होइन मेला महोत्सवको आयब्याय पनि देखाउने र पत्ता लगाउने निकायको पनि उत्तिकै कमजोरी मान्न सकिन्छ ।

मुल कुरा त मेला महोत्सवले जिल्लामा केकति कस्तो विषय बस्तुहरुको किनमेल भयो ? आर्थिक क्रियाकलापहरु के कति भयो ? मेला आयोजकहरुलाई फाइदा वा नाफा के भयो ? भन्ने कुरा समेत आम दर्शकले थाहा पाउन नसकेको अवस्था छ । जसले गर्दा केवल मेला महोत्सवहरु रमाइलोको लागी आयोजना गर्ने हो त ? कलाकारहरुलाई बोलाएर पैसा तिर्ने काम मात्र गर्ने हो त ? मेलाले राखेको उद्धेश्य के कति प्राप्त भयो ? फाइदा भएको हो भने उक्त रकम कहाँ कुन कार्यमा लाग्ने गरेको छ वा लगानी भएको छ ? घाटा भएको हो भने आयोजकले कहाँबाट कसरी तिर्ने ? भन्ने प्रश्न पनि आम नागरिक स्तरबाट उठ्न थालेको छ । जुन सार्वजनिक गर्नुपनि जरुरी देखिन्छ । महोत्सवमा गरिएको आयब्यय लगायत प्रतिफलको आयोजकहरुले अनिवार्य सामाजिक लेखापरिक्षण गर्नु अत्यावस्यक छ । मेला महोत्सवका माध्यमबाट स्थानिय कला, सँस्कृति, ब्यापार आदीको प्रर्बद्धन हुनु जरुरी छ । अन्यथा मेला प्रति आममानसको वितृष्णा उत्पन्न गर्ने साधन नबनोस् ।

सम्बन्धित समाचार

Facebook Comments