मानव बेचबिखन तथा ओसारपसार रोकथाम गर्न जनचेतना अभिबृद्धि गरिने
मुरली गोडिया, ९ असार, गुलरिया -बर्दिया) । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको बैठक सम्पन्न भएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारि गोगन बहादुर हमालको अध्यक्षतामा बसेको बैठकले ८ बुदे महत्त्वपूर्ण निर्णय गरेको छ ।
माइती नेपाल बर्दियाको समन्वयमा बसेको उक्त बैठकले जिल्लाको समग्र अवस्थाको जानकारी गराउदै रोकथामका लागि छलफल गरिएको बताइएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिको बैठकले जिल्लाभित्र मानव बेचबिखन तथा ओसारपसार रोकथाम, नियन्त्रण र जनचेतना अभिवृद्धिका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यलयमा बसेको सो बैठकले जोखिम क्षेत्र, नाका तथा प्रभावित समुदायको पहिचान गरी सम्बन्धित निकायसँग समन्वयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, घटना सम्बन्धी सूचना, उजुरी, उद्धार तथा पुनःस्थापनाको अभिलेख व्यवस्थित राख्ने तथा सीमा क्षेत्रहरूमा निगरानी र सूचना संकलन प्रणाली सुदृढ बनाउने निर्णय गरिएको माइती नेपाल बर्दियाले जनाएको छ ।
त्यसैगरी जोखिममा रहेका महिला, बालबालिका तथा अन्य व्यक्तिहरूलाई परामर्श, कानुनी सहायता, सुरक्षा र पुनःस्थापनाको व्यवस्था गर्ने, विद्यालय तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उद्धार गरिएका व्यक्तिहरूलाई सीप विकास, रोजगार तथा आयआर्जनका कार्यक्रमसँग आबद्ध गराउने तथा वार्षिक कार्ययोजना बनाई कार्यान्वयन र नियमित समीक्षा गर्ने निर्णय गरिएको छ । साथै उत्कृष्ट योगदान गर्ने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्ने र पीडितको गोपनीयता संरक्षण गर्दै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय समेत बैठकले गरेको छ ।
२१ °C काठमाडौं
Facebook Comments