बढैयाताल गाउँपालिकाको आगामी बजेट ७७ करोड ३१ लाख रुपैया
दलबहादुर सुनार, १२ असार, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७७ करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बुधबार सम्पन्न गाउँपालिकाको १९ औँ गाउँसभाले उक्त बजेट सर्वसम्मत रूपमा पारित गरेको हो ।
गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको सभाध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले बजेट प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको बजेटलाई पारित गरियोस् भन्ने प्रस्ताव सभाबाट सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ । गाउँसभाबाट पारित नीति तथा कार्यक्रम तथा बजेटबारे अध्यक्ष त्रिपाठीले एक हप्ताभित्र कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उपाध्यक्ष अधिकारीद्वारा प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ११ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी गाउँपालिकाको गौरवका आयोजनाका लागि ३ करोड ७८ लाख, समपूरक आयोजनामा ३ करोड ६५ लाख, विशेष अनुदान कार्यक्रमका लागि २ करोड ७० लाख रुपैयाँ छुट्याइएको छ । क्षेत्रगत रूपमा शिक्षामा सबैभन्दा बढी २९ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ भने स्वास्थ्य क्षेत्रमा ४ करोड ५४ लाख ८० हजार रुपैयाँ छ ।
आयुर्वेदतर्फ ११ लाख, कृषिमा ९३ लाख, पशु विकासमा ४८ लाख, पञ्जीकरणतर्फ ५ लाख, राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रममा ३८ लाख ५३ हजार तथा लघु उद्यम विकासतर्फ ३१ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ ७० लाख, तराई–मधेस समृद्धि तथा सडक बोर्ड समपूरक कार्यक्रममा ४५ लाख, बहुक्षेत्रीय पोषण कार्यक्रममा ३० लाख, विपद् व्यवस्थापनमा १५ लाख २० हजार, सहकारी क्षेत्रमा ५ लाख, महिला तथा बालबालिका क्षेत्रमा ३२ लाख तथा न्यायिक समितिका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश सरकारबाट प्राप्त शर्त अनुदान ९० लाख, प्रदेश विशेष अनुदान २० लाख तथा समपूरक अनुदान १ करोड ५० लाख रुपैयाँ समेत समावेश गरी कुल बजेट ७७ करोड ३१ लाख पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारुले जानकारी दिनुभयो । गाउँसभामा वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा विभिन्न वडाका जनप्रतिनिधिहरूले आफ्ना धारणा राख्दै बजेटले स्थानीय तहका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
वडा नम्बर ३ की महिला सदस्य चन्द्रा बि.क., वडा नम्बर ९ का सदस्य बुद्धिबहादुर थापा, वडा नम्बर ४ की महिला सदस्य धुर्वी थारु तथा अन्य सदस्यहरूले आफ्ना टोल–बस्तीका समस्याहरू प्रस्तुत गर्दै बजेट कार्यान्वयनमा प्रभावकारिता आवश्यक रहेको धारणा राख्नुभयो । वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेल र वडा नम्बर २ का अध्यक्ष डिलादेव गिरीले प्रस्तुत बजेटमाथि टिप्पणी गर्दै सुझावसमेत पेश गर्नुभएको थियो ।
२१ °C काठमाडौं
Facebook Comments