• १७ असार २०८३, बुधवार
  • २२ °C काठमाडौं
सीमावर्ती क्षेत्रका नागरिकलाई लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना

मुरली गोडिया, १७ असार, गुलरिया (बर्दिया) । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १० स्थित ग्रामीण सीमावर्ती क्षेत्रका नागरिकलाई लागुऔषध नियन्त्रणका बारेमा सचेत पारिएको छ । वडा कार्यालयको आयोजनामा लागुऔषध दुव्र्यसनी तथा यसको नियन्त्रण सम्बन्धी २ दिने सचेतनामूलक कार्यक्रम मार्फत उनीहरुलाई सचेत पारिएको हो ।

कार्यक्रममा वडा नम्बर १० मा रहेका विभिन्न गाउँ बस्तिका स्थानीय बासिन्दा, युवा, महिला तथा विद्यार्थीहरूको सहभागिता रहेको छ । कार्यक्रमको सहजीकरण गर्दै प्रशिक्षक काशिराम थारुले लागुऔषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असर, यसको कानुनी पक्ष, युवालाई लागुऔषधको लतबाट जोगाउने उपाय तथा समुदायको भूमिकाबारे विस्तृत जानकारी दिनु भएको छ । लागुऔसध प्रयोग वा कारोबार गरमो हुने कानुनी सजाय बारे समेत जानकारी गराईएको छ । 

सिमावर्ती क्षेत्रमा लागू औसधको अधिक कारोबार तथा सेवनका घटना हुने गरेकाले कार्यक्रमलाई प्राथमिकता दिइएको वडा सचीव टिकाराम गुप्ताले जानकारी दिनुभयो । सहभागीहरूलाई लागुऔषधको प्रयोगबाट हुने स्वास्थ्य, सामाजिक र आर्थिक क्षतिबारे सचेत गराउँदै यसको रोकथामका लागि परिवार, विद्यालय, स्थानीय सरकार तथा समुदायबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ । 

युवालाई सकारात्मक गतिविधिमा सहभागी गराई कुलतबाट टाढा राख्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको रत्नापुरकी सहभागी निशा कुमारी लोधको भनाई छ । वडाले गर्ने जनचेतनामूलक कार्यक्रमले समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसन न्यूनीकरण गर्न सहयोग पुग्ने वडा अध्यक्ष लक्ष्मी नारायण लोधले विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा सहभागीहरूले पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।

सम्बन्धित समाचार

Facebook Comments