गुलरियाका नास्ता पसल सफा राख्न निर्देशन
विष्णु अधिकारी, गुलरिया (बर्दिया) । गुलरिया नगरपालिका बजारक्षेत्र भित्र संचालनमा रहेका चिया नास्ता पसलहरु लगाएत अन्य खाद्य सामाग्रीहरु विक्री वितरण गर्ने पसलहरुमा अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा गुलरियामा अनुगमन गरिएको नास्ता पसलहरुमा सरसफाईमा कमी रहनुको साथै खाद्य सामाग्रीको म्याद तथा भण्डारण, खाद्य वस्तु विक्रि वितरणमा छापिएका पत्रपत्रिकाको प्रयोग गरिएको पाइएको छ ।
छापिएका पत्रपत्रिकामा खाद्य बस्तुहरु राखेर विक्री गर्दा त्यसले मानव स्वास्थ्यमा गम्भीर असरपर्ने खाद्य अनुसन्धान अधिकृत संगम दाहालले अनुगमनका क्रममा पसल संचालकहरुलाई सचेत गराउनु भएको छ । नास्ता पसललहरुमा प्रयोग हुने तेल धेरै पटक प्रयोग गर्न नहुने भएकाले बजार अनुगमनका क्रममा पाईएका करिब १५ लिटर तेल नष्ट पारिएको खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालयका अनुसन्धान अधिकृत दाहालले बताउनु भयो । अनुगमनका क्रममा करिब ७ हजार बराबरको अखाद्य पदार्थ नष्ट गरिएको छ ।
बजारका मिठाई पसल संचालकहरुलाई सरसफाई नियमित गर्ने, खाद्य बस्तुलाई जाली प्रयोग गरि छोप्ने, पटक पटक एउटै तेल प्रयोग नगर्न अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले सुझाव दिनु भएको छ । अर्यालले दिएका सुझावहरुको पालना व्यवसायीले गर्नुपर्ने र यदि अर्को पटक अनुगमन गर्दा फरक नपाएमा कानूनी प्रक्रियामा अगाडी बढाउने बताउनु भएको छ । व्ययसायीले अखाद्य वस्तु, रंगको प्रयोग खाद्य वस्तुमा नगर्न र ताजा खाद्यबस्तु वेच्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले व्यवसायीलाई आग्रह गर्नु भयो ।
बजार अनुगमनका क्रममा भट्टराई पाउरोटी उद्योग गुलरिया नगरपालिका ४ ले पाउरोटी, ब्रेड तथा खस्तामा लेबल नराखेको राखेपनि उत्पादन मिति नराखिएको, व्याच नं. र तौल नराखीएको पाइएकोले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके नेपालगंजले कारवाहीका लागि ब्रेड र खस्ताको मुचुल्का तयार गरि कारवाही प्रक्रिया अघि बढाएको छ । गुलरिया नगरपालिका उप–प्रमुख सावित्रा गौतमको संयोजकत्वमा गुलरिया बजारमा संचालनमा रहेका मिठाई पसलहरु तथा अन्य खाद्य सामाग्रीहरु विक्री वितरण गर्ने पसलहरुको बजार अनुगमन गरिएको हो ।
गुलरिया नगरपालिका उप प्रमुख गौतमले बजार अनुगमनलाई आगामी दिनमा अझ सशक्त बनाउने र मानव स्वास्थ्यमा असर गर्ने बस्तु बेचविखन गरेको पाइएमा कानून बमोजिम कारवाही गरिने बताउनु भएको छ । अनुगमनमा गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्याल, उद्योग वाणिज्य संघ गुलरियाका प्रतिनिधि केशव रिजाल, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रतिनिधी मोहन कुमार भँडेल, राष्ट्रिय उपभोक्ता मञ्च प्रतिनिधि रुपा बजगाई लगाएत सरोकारवाला निकायका प्रनिधिहरुको सहभागिता रहेको थियो ।
२६ °C काठमाडौं
Facebook Comments