बर्दियामा हात्तीको बासस्थान जोगाउने चुनौती
यादव आचार्य, गुलरिया । बन अतिक्रमण स्थिर निकुञ्जको क्षेत्रफल लगायतका कारण पछिल्लो समय नेपालमा हात्तीको बासस्थान जोगाउने चुनौती बढेको छ । हात्तीको संख्या बृद्धिहुँदै जाँदा बासस्थानको गुणस्तर सुधार नहुँदा मानव—हात्ती द्वन्दको जोखिम चुलिएको छ ।
बर्दियामा जंगली हात्तीको संख्या बढेपनि बासस्थान बृद्धि नहुँदा समस्या पर्ने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए । यतिखेर बर्दियामा १ सय २० भन्दा बढी जंगली हात्ती छन् । करिव ५० वटा जति हात्ती निकुञ्ज नछाडी रैथाने छन् । केही हात्ती ३/४ महिना नेपाल भारततर्फ बसाई सराई गर्छन् । उनले भने खाता जैविकमार्ग, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज हात्तीको प्रमुख बासस्थान बनेको छ । हात्तीको झुण्ड बबई उपत्यका सम्म पुग्छ । निकुञ्जमा हात्तीहरुको लागि पर्याप्त आहारा छ ।
बासस्थान ब्यवस्थापन गर्नुपर्ने चुनौती छ । हात्ती झुण्डमा मिल्न नसक्दा, आहारा नपाउँदा र मात्तिएको अवस्थामा जंगल बाहिर निस्किने गर्छ । बासस्थान ब्यवस्थापन नगरेसम्म पर्खाल वा तारवारको कुनै काम नभएको अधिकृत भण्डारीको भनाई छ । बर्दियामा जंगली हात्ती बढेसँगै द्वन्द पनि बढेको छ । हात्तीले समुदायको घरगोठ, अन्नवाली लगायत धनजनको क्षती गर्ने गरेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बताए । राज्यले द्वन्द घटाउँदै समुदायको आयआर्जन बढाउनु पर्छ । समुदायले बन जोगाएर हात्तीको संरक्षण भएको हो । गाउँमा हात्ती आउँदा अभियानका युवा, निकुञ्ज, नेपाली सेना लगायतको टीमले जोखिममै परेर भएपनि हात्ती धपाउँछौं ।
उनले थपे पर्यटकले सजिलै हात्ती देख्ने गर्छन् । राज्यलाई हात्ती बढेर आम्दानी त भएको छ । तर संरक्षण गर्ने समुदायहरु पिडित छन् । उनीहरुलाई बैकल्पिक वालीको अनुदानसँगै उत्पादनको बजार ब्यवस्थापनमा सरकारले चाँसो दिनुपर्छ । ‘हात्तीहरुलाई मद्दत गर्न संसारलाई सँगै ल्याउने’ प्रतिबद्धता सहित विश्वभर मनाईएको हात्ती दिवस नेपालमा पनि मनाईएको छ । नेपालका हात्ती पाईने निकुञ्ज लगायत हात्तीसारहरुमा विविध कार्यक्रमगर्दै विश्व हात्ती दिवस मनाइएको छ । बर्दियामा पनि हात्ती दिवसमा सचेतना दिईएको छ । बर्दिया निकुञ्जको हात्तीसारमा वयस्क १० र बच्चा २ गरी १२ वटा हात्ती पालिएका छन् ।
Facebook Comments