• ७ जेठ २०८२, मङ्गलवार
  • १८ °C काठमाडौं
गुलरिया नगरपालिकाको नीति तथा कार्यक्रमसँगै १ अर्ब ७८ लाख बढीको बजेट प्रस्तुत

विष्णु अधिकारी, १० असार, बर्दिया । गुलरिया नगरपालिकाले बिकास, संमृद्धि र संरक्षण, हाम्रो प्रतिवद्धता, हाम्रो अभियान भन्ने नाराका साथ दिर्घकालिन सोचलाई अगाडी बढाउँदै निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमवार गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले १२ औं नगरसभामा उत्पादकत्व बृद्धि, रोजगारी सिर्जना, सुशासन र नागरिक मैत्री प्रणाली स्थापनागर्दै पालिकाको बृहत्तर विकासको निति सार्वजनिक गर्नु भएको छ । 

रोजगारी सिर्जना गरी गाउँ तथा शहर बीच अन्तरसम्बन्ध कायम गरि गरिबी न्यूनिकरण गर्ने निति नगरको छ । गुलरिया नगरपालिकाका १२ वटा वडा मध्ये ९ वटा वडा कार्यालय आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको र ३ वटा वडा कार्यालयको निर्माण प्रकिया आगामी आर्थिक बर्षमा सुरु गर्ने नगरपालिकाको योजना छ । गुलरिया नगरपालिकाले सामुदायिक स्वास्थ्य केन्द्र्रहरुको स्तरोन्नती गरी नागरिकलाई थप गुणस्तरिय सेवा उपलब्ध गराउँदै गुलरिया नगरपालिकालाई सफा, स्वच्छ तथा हरित अभियान सहित फोरलेन सडक क्षेत्रमा ग्रीन बेल्ट निर्माणका लागि काम गर्ने लक्ष्य निति तथा कार्यक्रमको छ । त्यस्तै परम्परागत पेशाहरुको आधुनिकीकरणका लागि प्रबिधि सहयोग गर्ने निति अबलम्बन गरिने नगरप्रमुख मेयरले प्रस्तुत गर्नु भएको छ ।  

सामाजिक सुरक्षाको नीतिलाई थप भरपर्दो र विस्वासिलो बनाई कोही नहुनेको अभिभावक स्थानीय सरकार छ भन्ने तथ्य कार्यान्वयनमा ल्याउने निति रहेको छ । गुलरियामा रहेका सर्यु नदि, तुलसीपुर भगहर ताल, कृष्णसार संरक्षण क्षेत्रको अतिक्रमण हटाई आवश्यक पुर्वाधार निर्माण गरि ती क्षेत्रलाई सिमसार क्षेत्र अन्तर्गत राखि आयमुलक आयोजनाहरु संचालन गर्ने नगरपालिकाको लक्ष्य रहेको छ । गुलरिया नगरक्षेत्र भित्र सुविधा सम्पन्न बसपार्क तथा कोल्ड स्टोर निर्माण गर्नुका साथै औद्योगिक ग्राम क्षेत्रको आवश्यक भौतिक पूर्वाधार निर्माण प्रक्रियालाई निरन्तरता दिने र औद्योगिक ग्राम संचालनमा ल्याउने गुलरिया नगरपालिकाले लक्ष्य लिएको छ । 

माध्यमिक तह कक्षा ११ र १२ पूर्ण रुपमा निःशुल्क शिक्षा प्रत्याभुत गराउनका लागि विद्यालयले लिने मासिक शुल्कलाई पुर्ण रुपले निरुत्साहित गर्ने कार्यक्रमलाई आगामी बजेटमा पनि निरन्तरता दिईएको छ । गुलरिया नगरपालिकाले आर्थिक बर्ष ०८१/०८२ का लागि स्रोत तथा आय अनुमान १ अर्ब ७८ लाख ३८ हजार रुपैया बराबरको आय व्यय प्रस्तुत गरेको छ । कार्यक्रममा गुलरिया नगरपालिका उप–प्रमुख सावित्रा गौतमले अनुमानित आय व्यय प्रस्तुत गर्नुभएको छ । नगरप्रमुख यादवको अध्यक्षतामा भएको कार्यक्रममा गुलरिया नगरपालिका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले स्वागत मन्तब्य दिनु भएको थियो । कार्यक्रम नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द सुवेदीले संचालन गर्नुभएको हो ।

सम्बन्धित समाचार

Facebook Comments