समृद्धि उन्मुखबन्दै गुलरियाको मातृकोण सहकारी
मातृकोण बचत तथा ऋण सहकारी संस्था लिमिटेड गुलरिया बर्दियाको शनिवार १८ औं साधारण सभा सम्पन्न गरेको छ । करिव पौने ३ करोड रुपैयाको आयब्यय पारितगर्दै सभा सम्पन्न भएको छ ।
सहकारीमा ४ सय २४ जना शेयर सदस्यहरुको ४० लाख ४० हजार ९ सय रुपैया शेयर पूँजी रहेको छ । संस्थाको १६ लाख ५८ हजार १९ रुपैया जगेडा कोष, १ करोड ५९ लाख १० हजार ७७७ रुपैया निक्षेप, २ करोड २५ लाख ४० हजार १८४ रुपैया ऋण लगानी भएको संस्थाका अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिनु भएको छ । मुनाफातर्फ लम्किरहेको सहकारीमा भाखा नाघेको ऋण, सहकारीका सदस्यको अन्य सहकारीमा आवद्धता, बचत संकलनमा कठिनाई प्रमुख समस्याका रुपमा रहेको उहाँले बताउनु भयो ।
साधारणसभाले सचिवले प्रस्तुत गरेको सांगठनिक तथा कोषाध्यक्ष केशव प्रसाद रिजालले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित गरेको छ । लेखा समितिका सदस्य उत्तम कुमार पौडेलले सहकारीको ऋण असुली र भवन निर्माण प्रमुख आवस्यकता रहेको सुझाव प्रस्तुत गर्नु भएको थियो । सहकारीका सल्लाहकार भेजेन्द्र थापा, विष्णु भट्टराईले सहकारीलाई स्तरोन्नती गर्न सुझाव दिनुभयो । सहकारीका निर्वतमान अध्यक्ष नारायण प्रसाद अर्यालले सहकारीलाई ईवैंकिग तर्फ लैजानुपर्ने आवस्यकतामा जोड दिनु भएको छ ।
कार्यक्रमका विशेष अतिथी नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले असल सदस्यहरुले संचालन गरेको स्थानिय सहकारीको प्रर्बद्धनमा महासंघ लगायत ब्यक्तीगतबाट पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । कार्यक्रममा नियमित बचत गर्ने पुरुष शेयर सदस्य महेन्द्र भट्टराई महिला नर्मदा गौतम, ३ बर्षे असल बचतकर्ता खिमादेवी लामिछाने, संगिता, अधिक शेयरकर्ता सुमन सुवेदी, नियमित ऋण बुझाउने तारा कुमारी विकलाई नगदसहित पुरस्कृत गरिएको सहकारीका सचिव गुरुदत्त तिमिल्सिनाले बताउनु भयो ।
Facebook Comments