जनचाँसोको सवाल बुझ्दै उपभोक्ता हकहित संरक्षण समिति
विष्णु अधिकारी, ९ असोज, बर्दिया । नजिकिदै गरेको चाडपर्व लक्षित स्थानीय बजारको आपूर्ति व्यवस्था, कृतिम अभाव, मूल्यबृद्धिका विषयमा उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हकहित समितिले जनभावना बुझ्नका लागि ५ सदस्यीय टोली र सरोकारवालाहरुका विच जिल्ला प्रशासन कार्यालय बर्दियाको संयोजनमा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सरोकारवालाहरुले बजारमा बस्तुको सहज उपलब्धता भएतापनि पसलहरुमा मूल्यसूचि नराख्दा उपभोक्ताहरु ठगिने अवस्था आउन सक्ने भएकाले मूल्यसूचि देखिने गरि राख्नुपर्ने सुझाएका छन् ।
सरोकारवालाहरुले पुरानो भन्सारहरु रहेको स्थान र केही नयाँ खुलेका सिमावर्ती भारतीय बजारबाट आउने सामानको राजश्व संकलनका लागि छोटि भन्सार कार्यालयहरु राख्न सुझाएका थिए । राज्यबाट किसानलाई दिने अनुदानको रकम पहुँचवाला व्यक्तिहरुको हातमा भएकाले जो वास्तविक किसान छ उसले सुविधा नपाएका कारण किसानहरु कृषि पेशाबाट पलाएन भइरहेको अवस्थामा वास्तविक किसानसँग कसरी मल, विउ लगाएत अन्य सुविधा उपलब्ध गराउन पहल कदमी लिन उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका संयोजक माननीय अब्दुल खानँ संग नागरिक समाजले आग्रह गरेको छ । बर्दिया अन्नको भण्डार रहेको कारण किसानको खेतबारीमा धान पाक्न थालिसकेकोले धानको समर्थन मूल्य छिटो तोकि किसानलाई राहत दिन सुझाएका थिए ।
बर्दियाको राजापुर क्षेत्र धानको सुपरजोन घोषणा भैसकेको र राज्यको धान सुपरजोनका लागि करोडौं खर्च भैसकेको अवस्थामा फेरि राज्यको अर्को निकाय उद्योग मन्त्रालयले चिनी मिलका लागि स्वीकृती दिनु भनेको के हो भनि प्रश्न गरेका थिए । उपभोक्ता हकहित तथा नागरिकले जनचासोका विषयमा उठाएका सवालहरुको सम्बोधन भएको हेर्न चाहेको समितिसँग सरोकारवाला पक्षहरुले आग्रह गरेको छ । उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिका संयोजक माननीय अब्दुल खाँनले विचौलियका कारण किसानहरु मर्कामा परेको कारण देशव्यापि रुपमा स्थानीयको पिडा स्थानीयबाट नै आउने भएका कारण जनभावना बुझि त्यहि अनुरुप राज्यलाई प्रतिप्रवेदन बुझाई कार्यान्वयनको पाटोमा अघि बढ्ने बताउनु भएको छ ।
भारतीय बजारबाट आउने तरकारीहरु विषादीयुक्त भए नभएको चेकजाँचका लागि भन्सार नाकाहरुमा ल्याबको व्यवस्थाका लागि सरकारलाई प्रतिवेदन बुझाई कार्यान्वयन गर्न तर्फ समिति दृढ रहेको संयोजक माननीय खाँनले जानकारी दिनु भएको छ । नेपाल कृषि प्रदान देश भनेर भनिएता पनि कृषि क्षेत्रमा लगानी बढनुको साटो घट्दै गइरहेका कारण किसानका समस्याहरु बुझि समस्या हल गर्न आफु दृढ रहेको बताउनु भयो । संयोजक खाँनले बनेका कानून कार्यान्यवनको पक्ष फितलो भएका कारण उपभोक्ताहरु मारमा परिरहेको हुँदा बनेका ऐन, नियम, कानून, ढिलाई नगरी दृढताका साथ अगाडी बढाउनु पर्ने बताउनु भएको छ ।
कार्यक्रममा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरु माननीय रेखा यादव, कान्तिका सेजुवाल, अमृता देवी अग्रहरी र सिता मिजारले जनचासोका सवालहरु स्थानीयहरु सँग बुझि कानून कार्यान्वयनका लागि पहलकदमी चाल्ने बताउनु भएको छ । माननीयहरुले हामी जिल्ला जिल्लामा जनचासोको सवाल बुझ्न तथा नजिकिदै गरेको चाडबाडमा हुन सक्ने कृत्रिम अभावहरु हुन नदिन सरोकारवालाहरुबाट सुझाव लिन र दिन समिति नै आएको जानकारी दिनु भएको थियो । प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले बस्तुको उपभोग गर्ने उपभोक्ता हामी सबै भएकाले बजार अनुगमनलाई सहज रुपमा बुझिदिनका लागि सरोकारवालाहरुसँग आग्रह गर्नु भएको छ ।
उपभोक्ता हकहितका लागि बजारमा मुल्यसूचि तथा खाद्य र अखाद्य बस्तु छुट्टाएर राखे नराखेको, मिसावट गरे नगरेको हेर्नका लागि बजार अनुगनम गर्ने भएकाले सामान्य कुराहरुको ख्याल गर्न प्रमुख जिल्ला अधिकारी शर्माले व्यापारीहरुलाई सुझाव दिनु भएको छ । व्यवसायीहरुलाई सचेतना जगाउने जिम्मेवारी उद्योग वाणिज्य संघको पनि भएकाले सबैको हातेमालोले ब्यापारी र उपभोक्ता दुबैलाई मार नपर्ने गरि कार्य गरेमा अनुगमनबाट व्यवसायी डराउन नपर्ने बताउनु भएको छ । कार्यक्रम उद्योग वाणिज्य संघका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाज, उपभोक्ता हकहित समितिका प्रतिनिधि, संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
Facebook Comments