• २७ कार्तिक २०८१, मङ्गलवार
  • २२ °C काठमाडौं
प्रशासनको अगुवाईमा गुलरियाका मिठाई पसल अनुगमन

विष्णु अधिकारी, १२ कार्तिक, बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाको नेतृत्वमा गुलरिया नगरपालिकामा संचालनमा रहेका मिठाई पसलहरुको अनुगमन गरिएको छ । तिहारमा मिठाईजन्य बस्तुको विक्रि अन्य समयको तुलनामा अत्यधिक बढ्ने कारणले गुणस्तरिय खाद्य वस्तु विक्री वितरण भए नभएको अनुगमनका क्रममा चेकजाँच गरिएको हो । 

बजारमा अखाद्य पदार्थ मिसावट भएका मिठाईहरुको प्रयोगले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने भएको अनुगमनलाई तिब्रता दिइएको बताईएको छ । गुलरिया नगरपालिका बजार क्षेत्र भित्र संचालनमा रहेका मिठाई पसलहरुकोे संयुक्तरुपमा  बजार अनुगमन गरिएको हो । बिषेश गरेर नजिकिदै गरेको तिहार पर्वलाई लक्षित गरि बर्दिया प्रशासनले बजार अनुगमनलाई तिब्रता दिएको छ । अनुगमनमा बिषयगत कार्यालयहरु सहित गुलरिया नगरपालिका समेतको उपस्थितीमा बजार अनुगमन गरिएको हो । लामो समयमा बजार अनुगमन हुने भएका कारण व्यवसायीहरुले मानव स्वास्थ्यका बिषयमा खासै चाँसो नदिएको अनुगमनका क्रममा देखिएको छ ।  

अनुगमनकै क्रममा व्यवसायी हरुले म्याद गुज्रेका सामाग्रीहरुलाई पसलमानै सजाएरै राखिएको पाईएको छ । बिशेष गरेर म्याद नाघेका उपोभोग्य वस्तु, लेवल नभएका वस्तुहरु,  अखाद्य बस्तुहरु बेच्ने गुलरियाका ३ वटा मिठाई पसलहरुलाई जरिवाना गराई म्याद नाघेका उपाभोग्य तथा  अखाद्य वस्तुहरुलाई मुचुल्का उठाई नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले जानकारी गराउनु भएको छ । मिठाई पसलहरुलाई सरसफाईमा ध्यान दिन निर्देशन दिईएको र अर्को पटक अनुगमन गर्दा दिइएका सुझावहरु पालना नगरेको पाइएमा कारवाहीको दायरामा ल्याई हदैसम्मको कारवाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी कठायतले बताउनु भयो । 
गुलरिया नगरपालिका वडा नम्बर ६ मा संचालनमा रहेको पर्वत होटल, गुलरिया ४ तुलापुरमा रहेको न्यू कैलाश मिठाइ तथा नास्ता पसल र मदन चिया पसल गुलरिया ६ मा रहेका मिठाई पसलहरुलाई मिसावटयुक्त तथा ढुसी लागेका सामान विक्रि वितरणमा राखे वापत पहिलो चरणमा ५ हजार जरिवाना गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सरसफाईमा ध्यान नदिएमा मिठाइ लगायतका खाद्यवस्तु हरु छिटो बिग्रने र मानव स्वास्थ्यलाई पनि प्रभाव पार्ने भएका कारण व्यवसायी हरुले विशेष ध्यान पुर्याउन अनुरोध गरि आवश्यक निर्देशन पनि दिइएको थियो । 

चाडपर्व लाई मात्रै केन्द्रित गरि गरिने अनुगमनका कारण व्यवासायीहरु गम्भीर नहुने भएका कारण वजार अनुगमनलाई निरन्तरता दिन स्थानीय उपभोक्ताहरुले गुनासो गरे । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनमा घरेलु  तथा साना उद्योग कार्यालय बर्दिया, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, नेपालगंज, गुलरिया उद्योग वाणिज्य संघ, उपभोक्ता हकहित संरक्षण समिति अध्यक्ष, नेपाल पत्रकार महासंघको प्रतिनिधिको उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार

Facebook Comments