कृषि प्राविधिक पार्वती चौधरीको फूलखेतीमा लोभलाग्दो आर्कषण
विष्णु अधिकारी, १६ कार्तिक, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ३ खैरीकी पार्वती चौधरीले व्यावसायिक रुपमा सयपत्री र मखमली फूलखेती गरेकी छन् । यतिखेर सयपत्री फुल फुलेर ढकमक्कै भएको देख्दा जो सुकैको मन आनन्दित हुन्छ । तिहार लक्षित सयपत्रीले १ विगाहाको क्षेत्रफल पहेँलै भएका छन् । कृषि प्राविधिक पढ्दै कृषिमा लागेकी चौधरीले फूलखेतीमा लाग्ने रोगकिरा र अन्य प्राविधिक पक्ष आफै हेर्ने गर्छिन ।
गुलरियामा ३ वर्ष अघिदेखि फूल खेतीमा लागेकी चौधरीले सहयोगका लागि विभिन्न सरोकारवाला निकायहरुमा धाएपनि सहयोग नपाएको दुःखेसो गरिन । चौधरी पढ्दै, सिप सिक्दै कृषि विषय अध्ययन गरेकाले फूल उत्पादनका लागि यस क्षेत्रको माटो उपयुक्त हुँदा व्यवसायिक फूलखेती विस्तार गरेकी हुन् । चौधरीले अध्ययन गरिरहेको विषयलाई नै प्रमुख पेशा बनाउदै आफ्नै ठाउँमा जग्गा भाडामा लिएर फूल खेति गरिरहेको बताउँछिन् । नेपालमा भारतीय बजारबाट आउने प्लाष्टिकजन्य पूmलले मानवको स्वास्थ्य तथा सरसफाइमा असर गर्ने भएकाले प्राकृतिक दृष्टिकोणले अब्बल मानिएको सयपत्री फुलको प्रयोग गर्न सबैमा चौधरीले आग्रह गरेकी छन् ।
उनले भारतबाट आयात हुने प्लाष्टिकजन्य फूलहरु रोक्नका लागि स्थानीय प्रहरी प्रशासनसँग अनुरोध गरेकी छन् । आय आर्जनको प्रमुख स्रोतका रुपमा फूलखेतीले विस्तारै बजार ओगट्दै गएकाले पनि यसको व्यावसायिकतामा जोड दिन सकिए धेरै स्वरोजगार बन्ने उनको भनाइ छ । उनले विगतका वर्षमा एक बिघा जमीनमा लगाएको फूलबाट मनग्य आम्दानी गरेपछि फूलखेतीतर्फ आकर्षित भएको बताईन् । “फूलको बजार राम्रो छ”, कृषक चौधरीले भनिन्, “तिहारमा सयपत्री फूलले राम्रो बजार पाउने भएकाले तिहार अघिदेखि नै फूलको माला बनाएर स्थानीय बजारमा विक्री गर्ने गरेकी छु । स्थानीय पालिका, संस्थाले आयोजना गर्ने हरेक कार्यक्रममा पनि फूलको माला लगाई दिने चलन बढाउदै लगेकाले स्थानीय फूलको माग बढ्दै गएको तर्क गरेकी छन् ।
सयपत्री फूल खेतीका लागि चार महीना खट्नसके राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । बीउ र भाडामा लिएको जग्गाको मूल्य जोड्दा वर्षमा रु एक लाखसम्म खर्च हुने भएकाले आफुलाई हौसला प्रदान गरिदिनका लागि सबैसँग आग्रह गरेकी छन् । समयमा फूल उत्पादन गर्न सके राम्रो बजार पाउने र बजारमा फूलको माग भए पनि सम्बन्धित निकायले फूलखेतीतर्फ ध्यान दिन नसक्दा भारतबाट आयात गरेको फूल प्रयोग गर्न नेपाली उपभोक्ता बाध्य हुनुपरेको उनको भनाइ छ । गुलरिया–३ खैरीमा २० कट्ठा जमिन बार्षिक रु. २० हजार भाडामा लिएर उनले फूलखेती गरिरहेकी छन् । स्वदेशमै कृषि पेसाबाट आम्दानी गर्न सकिने प्रशस्त सम्भावना हुदाहुदै पनि बेरोजगार युवालाई कृषिमा जोड्ने उद्देश्य राज्यका निकायहरुले लिएमा बिदेशिने युवाहरुलाई रोक्न टेवा पुग्ने छ ।
Facebook Comments