• १३ असार २०८३, शनिवार
  • २७ °C काठमाडौं
बाँसगढी नगरपालिकाले किसान सुचिकरण गर्ने


विन्दु चौधरी, बाँसगढी (बर्दिया) । सरकारले किसानको अभिलेख राख्ने कार्यक्रम अनुसार बाँसगढी नगरपालिकाले पनि किसानहरूको सुचिकरण गर्ने भएको छ । नगरपालिकाले किसान सुचिकरण कार्यक्रम कार्यान्वयन गर्न नगरपालिका भित्रका ४२ जना सहजकर्ताहरुलाई किसान सुचिकरण सम्बन्धी अभिमुखिकरण गरेको छ । 


नगरपालिकाको कृषि विकास शाखाको आयोजना तथा राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाको सहयोग तथा समन्वयमा किसान सूचीकरण सफ्टवेयर सन्चालनका लागि सहजकर्ताहरुलाई एकदिने अभिमुखिकरण तालिम दिइएको हो । बाँसगढी नगरपालिकामा १५ हजार ४ सय ९९ घरधुरि कृषकहरुलाई अनलाईन प्रणालीमा सुचिकृत गरिने कृषि विकास शाखा प्रमुख लाल बहादुर खड्काले जानकारी दिनुभयो । तालिमको सहजीकरण मधुवन नगरपालिका कृषि विकास शाखाका प्रमुख एकराज ओलीले गर्नुभएको थियो । 


गणकहरुले घर दैलोमा पुगेर किसानहरुको बास्तविक तथ्याँक संकलन गरी अनलाइनमा राख्ने छन् । किसानले लगाएको बाली, जग्गाको अवस्था लगायतका कृषि तथा पशुपंक्षिको तथ्याँक समेटिने भएको छ । सरकारले किसानलाई दिने अनुदान नदोहोरिने र वास्तविक किसानलाई कृषि अनुदान प्राप्त गर्न कार्यक्रमले सहयोग पुग्ने बाँसगढी नगरप्रमुख खडक बहादुर खड्काले बताउनुभयो । कृषि व्यवसाय प्रवद्र्धनका लागि किसानको अवस्था राष्ट्रिय स्तरमा पहिचान गर्न किसान सुचिकरण कार्यक्रम प्रभावकारी हुने उहाँले बताउनुभयो । अभिमुखिकरण कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत नोखिराम ओली, नगरपालिकाका अधिकृत विमल पौडेल, राधा कृष्ण थारु जनसेवा केन्द्र गुलरियाका स्थानिय अधिकार कार्यक्रम अधिकृत जयराम चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता नगर प्रमुख खड्काले गर्नुभएको थियो भने संचालन कृषि प्राविधिक विकास उपाध्ययले गर्नुभएको थियो ।

 

सम्बन्धित समाचार

Facebook Comments