उपप्रमुखको नेतृत्वमा बाँसगढी नगरको बजार अनुगमन
विन्दु चौधरी, २३ माघ, बाँसगढी (बर्दिया) । बाँसगढी नगर पालिकाकी उपप्रमुख इन्दिरा चौधरीको नेतृत्वमा बजार अनुगमन गरिएको छ । बजार व्यवस्थापन कार्यलाई व्यवस्थित बनाउँदै उपभोक्ताको हित सुनिश्चित गर्न नगर पालिकाले अनुगमन गरेको हो ।
अनुगमन टोलीले बजार क्षेत्रमा रहेका विभिन्न खाद्य सामाग्री, बेकरी, होटल व्यवसायहरूको अनुगमन तथा निरीक्षण गरेको छ । व्यवसाय सञ्चालनका क्रममा अपनाइनु पर्ने नियमको पालना भए/नभएको, खाद्य वस्तुको म्याद समाप्त भए/नभएको, मूल्य सूची प्रकाशन, सरसफाइ तथा अन्य कानुनी प्रावधानहरूको स्थिति हेर्ने उद्देश्यका साथ अनुगमन गरिएको नगर उपप्रमुख चौधरीले जानकारी दिनुभयो । अनुगमनका क्रममा फेला परेका घरेलु मदिरा, म्याद नाघेका अखाद्य सामाग्री, मिठाई लगाएतका बरामदी अवैध सामाग्री प्रहरीको जिम्मा लगाइएको छ ।
बेकरी उद्योग र होेटल ब्यवसायहरुलाई सरसफाईमा विषेश ध्यान दिन र बजार क्षेत्रमा बाटो २५ मिटर कायम गर्न र समाग्री हटाउन समेत अनुगमन टोलीले निर्देशन दिएको छ । नगरपालिकाको बजार अनुगमन टोलीमा बाँसगढी नगर उपप्रमुख, इलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्य, मोतिपुर इलाका प्रहरी कार्यालय बाँसगढीका वरिष्ठ सई श्याम रोका, बाँसगढी नगरपालिका वार्ड नम्बर ५ का वडासदस्य प्रकाश बराल, नगर पालिकाका कर्मचारी, उद्योग बाणिज्य संघ, इलाका प्रहरी, पत्रकार लगाएतको सहभागीता थियो ।
Facebook Comments