बाँसगढीका महिलालाई १ महिने सिपमुलक तालिम
विन्दु चौधरी, ७ फागुन, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिकाले महिलाहरुलाई उद्यमशिलतामा प्रोत्साहित गर्न ३० दिने सिपमुलक तालिम शुरु गरेको छ । पालिकाको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रालि. काठमाडौंको प्राविधिक सहयोगमा नगर भित्रका ९ वटै वडाका महिलाहरुलाई एक महिने तालिम सञ्चालन गरेको हो ।
गाईभैंसीलाई खुवाउन प्रयोग हुँदै आएको मकैको खोस्टाबाट हस्तकलाका सामग्री उत्पादन गर्ने सिप प्रदान गरिएको बाँसगढी नगर उपप्रमुख इन्दिरा चौधरीले जानकारी दिनुभयो । नगर भित्रका २० जना महिलालाई स्थानीय स्तरमा पाइने प्राकृतिक रेशाजन्य वनस्पतीमार्फत हाते झोला, टोपी, फूलदानी, टोकरी लगायतका विभिन्न सामग्री बनाउने सिप सिकाइने उहाँले बताउनुभयो । तालिम उद्घाटन कार्यक्रममा बाँसगढी नगरपालिका प्रमुख खड्क बहादुर खड्काले स्थानीय स्रोत र साधनको सदुपयोग गरी महिला दिदीबहिनीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको जानकारी दिनुभयो ।
सिकेका सिपको माध्यमबाट हस्तकलाका सामग्री उत्पादन गर्न आग्रह गर्दै उहाँले उत्पादित सामग्री नगरपालिकाले खरिद गरिदिने तथा उत्पादनको आधारमा अनुदान समेत दिने प्रतिबद्धता जनाउनुभयो । उपप्रमुख इन्दिरा चौधरीको अध्यक्षतामा भएको तालिममा उहाँले महिलालाई स्वावलम्बी र उद्यमी बनाउन नगरपालिकाले तालिम सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो । नगरपालिकाले प्रदान गरेको सिपको माध्यमबाट उत्पादित वस्तु विक्रीका लागि सम्बन्धित निकायसंग संमन्वयात्मक व्यवस्था गरिने बताउनुभयो ।
महिला तथा बालबालिका शाखा प्रमुख यशोदा थापाले हस्तकलाका सामग्री सजावटका लागि प्रयोग हुने र विदेशीहरुले मन पराउने हुँनाले खाली समयको सदुपयोग गरेर भएपनि उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । सहभागी महिलालाई ओम राजश्री मल्टी एग्रो प्रालि. काठमाडौका कार्यकारी निर्देशक युवराज गैरेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
Facebook Comments