• ११ वैशाख २०८२, बिहिवार
  • १८ °C काठमाडौं
लुम्बिनी सरकारको मेरो विद्यालय मेरो दायित्व शैक्षिक सुधार अभियान शुभारम्भ

विष्णु अधिकारी, १० फागुन, बर्दिया । मेरो विद्यालय मेरो दायित्व अभियानको फागुन ९ गतेदेखि प्रदेश सरकारबाट लुम्बिनी प्रदेश अन्तर्गतका १२ जिल्लाको १४ विद्यालयमा अभियान शुरु भएको छ । बर्दियामा गेरुवा गाउँपालिका वडा नं. २ मा रहेको एकप्रिय राठौर माध्यमिक विद्यालयबाट अभियानको सुभारम्भ भएको हो । 

अभियानले प्रदेशका १ सय ९ वटा स्थानीय तह अन्तर्गतका ४ हजार ५ सय ३१ सामुदायिक र ५ सय ४० धार्मिक विद्यालयमा सरोकारवालाहरुको सामुहिक सहभागिता विस्तारगर्दै सामुदायिक विद्यालयहरुमा गुणात्मक सुधार गर्नका लागि अभियान शुरु गरेको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बताउनु भएको छ । मन्त्री तिमिल्सिनाले विद्यालयमा रहेका विविध समस्याहरु उजागर गरी शैक्षिक सुधारको अभियानलाई सबैको उत्तरदायित्वको लागि सामाजिक आन्दोलनको रुपमा अभियानलाई पूर्णता दिने कुरामा जोड दिनु भयो । शैक्षिक क्षेत्रको सुधारका लागि सरोकारवाला ब्यक्तित्वहरुको सकारात्मक भूमिका र सहयोगमा सामुदायिक विद्यालयको खस्कदो स्तरलाई सुधार गर्दै हाम्रो विद्यालय राम्रो विद्यालय बनाउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको सामाजिक विकास मन्त्री तिमिल्सिनाको भनाई छ । 

सामुदायिक विद्यालयमा विगतमा अध्ययन गरेका हाल विभिन्न सामाजिक संस्था, निकाय र क्षेत्रको जिम्मेवार पद र हैसियतमा रहेका पूर्व विद्यार्थीहरुलाई आफ्नो विद्यालय प्रतिको सेवाभाव जगाई शैक्षिक, सामाजिक, आर्थिक, भौतिक एवं अन्य पक्षमा सहयोग र सहजीकरणका लागि मन्त्री तिमिल्सिनाले आग्रह गर्नु भएको छ । यस अभियान संचालनका लागि सरकार वा विद्यालयको तर्फबाट अलग रुपमा  कुनै पनि बजेटको ब्यवस्था नगरी बिना बजेट संचालन हुने स्वयंसेवी अभियान भएको हुनाले आफु अध्ययन गरेको सामुदायिक विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थीहरुका विच सुमधुर सम्बन्ध कायम गर्दै अभियानलाई पूर्णता दिने सोचका साथ अभियानको सुरुवात भएको हुँदा सबैको हातेमालोका लागि लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री तिमिल्सिनाले आम सरोकारवालाहरुलाई आव्हान गर्नु भएको छ ।

मेरो विद्यालय मेरो दायित्व कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले कार्यक्रम समय सान्दर्भिक र सिर्जनशील रुपमा आएको हुँदा यो अभियानमा सबै जुट्नु पर्नेमा जोड दिनु भएको छ । यसै विद्यालयमा अध्ययन गरि उत्पादनशिल जनशक्ति भएर काम गरिरहनु भएको महानुभावहरुलाई जोड्न पुलको काम गरेको यो कार्यक्रम लुम्बिनी प्रदेशमा मात्र संचालन नगरी अन्य प्रदेश तथा देशभर संचालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भएको छ । हामी सबैले आफ्नो कर्तब्य ठानेर आफु अध्ययन गरेको विद्यालयमा लगानी गर्न पाउनु विद्यार्थीको लागि पनि सुवर्ण अवसर प्राप्त हुनुका साथै सबैलाई जिम्मेवारीका साथ आफु अध्ययन गरेको विद्यालयलाई लगानी गर्नुपर्छ भन्ने शिक्षा दिएको प्रमुख जिल्ला अधिकारीको शर्माको भनाई छ । 

विद्यार्थीहरुलाई नैतिकवान, आचरणयुक्त र अनुशासित बनाएर आफ्नो जिम्मेवारी र कर्तब्य बोध समेतको शिक्षा आजको आवश्यकता रहेको उहाँको भनाई छ । कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सुर्य बहादुर विष्ट, गुलरिया नगरपालिकाका नगर उप प्रमुख सावित्रा गौतम, गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी, सामाजिक अभियन्ता, शिक्षाविद्, विश्वविद्यालय तथा प्राविधिक विद्यालयका प्राध्यापक तथा प्रशिक्षकहरु, वकिल, जनप्रतिनिधि तथा विभिन्न पेशा तथा ब्यवसायमा संलग्न ब्यक्तिहरुले लुम्बिनी प्रदेश सरकारले संचालन गरेको मेरो विद्यालय मेरो दायित्व अभियान पूर्णताका लागि सबैको हातेमालो आवश्यक रहेकोले कार्यक्रमलाई सबै विद्यालयमा पूर्णता दिन आफुहरु लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

सम्बन्धित समाचार

Facebook Comments