राजापुरको रक्तदानबाट २८ पिन्ट रगत संकलन
केशव कोईराला, २६ चैत्र, राजापुर (बर्दिया) । युनिक नेपाल र नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर नगरपालिकाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जसमा २८ पिन्ट रगत संकलन गरिएको छ ।
युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुको अध्यक्षतामा आयोजित कार्यक्रम युनिक नेपालको केन्द्रीय कार्यालय, राजापुर २ जोतपुरमा आयोजना गरिएको हो । कार्यक्रममा रक्तदान गर्न आएका सम्पूर्ण सहभागीहरूलाई युनिक नेपालका अध्यक्ष थारुले हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले रक्तदानको महत्व र समाजमा यसको ठूलो योगदानको बारेमा सहभागीहरूलाई प्रष्ट्याउनु भयो । रक्तदान कार्यक्रमले राजापुर नगरपालिकामा स्वास्थ्य सेवा सुदृढ गर्न र विभिन्न कठिनाइमा परेका बिरामीहरूको उपचारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा विभिन्न स्वयंसेवक र रक्तदाता समाजका सदस्यहरूको सक्रिय सहभागिता रहेको युनिक नेपालका कार्यक्रम संयोजक सोम डेमनडौराले जानकारी दिनुभयो । नेपाल स्वयंसेवी रक्तदाता समाजको कार्यक्रमले सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरण प्रस्तुत गरेको सहभागीहरुले बताएका छन् । भविष्यमा पनि यस्ता कार्यक्रमहरूको निरन्तरता रहने अपेक्षा गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुरका अध्यक्ष लोकराज ढुगांनाले आगामी दिनहरूमा यस्ता सराहनीय कार्यहरूमा आफ्नो भूमिका निरन्तर रहने प्रतिवद्धता जनाउनु भयो ।
Facebook Comments