• ७ जेठ २०८२, मङ्गलवार
  • १८ °C काठमाडौं
राजापुरमा आयोजित डकर्मी तथा सडक मर्मत तालिम समापन

केशव कोईराला, ३० चैत्र, राजापुर (बर्दिया) । राजापुर नगरपालिका वडा नम्बर ५ मा आयोजना गरिएको सिप विकास तालिमको समापन गरिएको छ । राजापुर नगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा स्किल ट्रेनिङ्ग एण्ड रिसर्च कन्सल्टेन्सी प्रा.लि. नेपालगञ्ज, बाँकेको प्राविधिक सहयोगमा सञ्चालन भएको तालिम प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाको अंश स्वरूप सञ्चालन गरिएको हो ।

आर्थिक वर्ष २०८१/०८२ का लागि सूचीकृत बेरोजगार युवाहरुमध्येबाट प्राथमिक सूचीका आधारमा छनौट गरिएका १० नं. वडाका २० जना श्रमिकहरुलाई ५० दिने डकर्मी तालिम तथा ५ नं. वडाका २० जना श्रमिकहरुलाई सडक मर्मत तालिम प्रदान गरिएको हो । समापन कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष रमेश दहित सभाध्यक्ष रहनु भएको थियो । प्रमुख अतिथिका रूपमा नगरप्रमुख  दिपेश थारु, विशिष्ट अतिथि नगर उप–प्रमुख मनकला कुमारी चौधरी रहनु भएको थियो । 

त्यस्तै अर्का विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत  दशरथ बुढा तथा अतिथि वडा नं १० का वडाध्यक्ष शिवलाल थारुको सहभागिता थियो । तालिम प्रदायक संस्थाका प्रतिनिधिहरू, रोजगार सेवा केन्द्र राजापुरका कर्मचारीहरू तथा दुबै वडाबाट तालिममा सहभागी ४० जना प्रशिक्षार्थीहरूको उपस्थिति रहेको बताईएको छ । नगरप्रमुख थारुले राजापुर नगरपालिकाबाट विगतमा सञ्चालन गरिएका विभिन्न सिप विकास तालिमबाट दक्ष जनशक्ति उत्पादन हुँदै आएको उल्लेख गर्नु भएको छ । 

अब दक्ष जनशक्तिको विस्तृत विवरण संकलन गरी श्रम बैङ्कको स्थापना गर्ने परिकल्पना रहेको खुलासा गर्नुभयो । यस कदमले तालिम प्राप्त श्रमिकहरूलाई रोजगारीका थप अवसरहरू सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीय स्तरमा सिप विकासमार्फत आत्मनिर्भरता तथा रोजगार सृजनाको दिशा तर्फ राजापुर नगरपालिकाले लिएको सकारात्मक पहललाई कार्यक्रमले थप सुदृढ बनाउने विश्वास लिईएको आयोजकले जनाएको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments