बर्दिया सुनचाँदी व्यवसायी संघ मधुवनको अधिवेशनसँगै भवन उद्घाटन
दलबहादुर सुनार, ८ असार, बढैयाताल (बर्दिया) । बर्दिया सुनचाँदी व्यवसायी संघ, मधुवन बर्दियाको पाँचौं अधिवेशन तथा नवनिर्मित भवनको एकै दिन भव्य उद्घाटन भएको छ । मधुवन नगर पालिकाका प्रमुख तेजबहादुर भाटले एक समारोहका बिच दिप प्रज्वलन कार्यक्रम समुद्घाटन गर्नुभएको छ ।
समारोहमा नगर प्रमुख भाटले सुनचाँदी व्यवसायीहरूको आन्दोलन उनीहरूको मात्र नभई उपभोक्तासँग पनि जोडिएको बताउँदै संघको समृद्धि र विकासका लागि हर प्रकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष बुद्धिबहादुर बि.कले सरकारले लगाएको २ प्रतिशत शुल्क र १३ प्रतिशत भ्याट फिर्ता नभएसम्म कडा आन्दोलन जारी राखिने चेतावनी दिनुभयो । उहाँले स्थानीय सरकारले सुनचाँदी सम्बन्धी तालिम सञ्चालन गरी बेरोजगारी घटाउने पहल गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
‘पुख्र्यौली गहनाको जर्गेना गरौं, कला र संस्कृतिको संरक्षण गरौं’ भन्ने मूल नारासहित सम्पन्न अधिवेशनमा वक्ताहरूले संविधान, ऐन, कानुन र नीतिमा रहेको व्यवस्था व्यवहारमा लागु नगरेसम्म जातीय विभेद अन्त्य नहुने धारणा व्यक्त गरेका छन् । मधुवन नगरपालिकाका संस्थापक नगर प्रमुख गणेशबहादुर के.सीले दलित समुदायको सीप र पेशालाई सम्मानित रुपमा व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । नगर प्रवक्ता मेखबहादुर गुरुङले पुख्र्यौली पेशाको संरक्षणमा जोड दिनुभयो ।
शनिबार आयोजित कार्यक्रमको उद्घाटन समारोहमा भवन निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने संघ, संस्था र व्यक्तिहरूलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो । सम्मानित हुनेमा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट, संस्थापक नगर प्रमुख गणेशबहादुर के.सी. वडा नम्बर ७ का अध्यक्ष राजेन्द्र हमाल, स्थानीय तथा वाह्य जिल्लाका सुनचाँदी व्यवसायीहरू लगायत विभिन्न व्यक्तिहरू रहेका थिए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान केन्द्रीय सदस्य बालकृष्ण दियाली, मधुवन वडा नं. ६ का निवर्तमान अध्यक्ष भक्तबहादुर सुनार, बुद्धिजीवी मनोज कुमार बिक, मानबहादुर बैगार, भुपेन्द्र शेरला, नेपाल सुनचाँदी व्यवसायी संघ सुर्खेतका ओमबहादुर बिक, साथै टिकापुर, दाङ तुल्सीपुर, सुर्खेत र बाँकेका व्यवसायी संघका प्रतिनिधिहरूले पनि अधिवेशनको सफलताको शुभकामना व्यक्तगर्दै राज्यले लादेको २ प्रतिशत शुल्क र उपभोक्तासम्म ६ प्रतिशत सम्म पुग्ने भन्दै करको चाप तत्काल हटाउन माग गर्नु भएको छ । उद्घाटन समारोहको सञ्चालन हरिबहादुर सुनारले गर्नुभयो भने स्वागत मन्तव्य कृष्णबहादुर सुनारले राख्नु भएको थियो ।
२६ °C काठमाडौं
Facebook Comments