• २० चैत २०८२, शुक्रवार
  • १५ °C काठमाडौं
बढैयातालका मत्स्य पालक किसानलाई अनुदानमा कृषियन्त्र वितरण

दलबहादुर सुनार, १२ असार, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिकाका मत्स्य पालक व्यवसायी किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरिएको छ । नेपाल सरकार अन्तर्गत कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई बर्दियाको सहयोगमा “सिंचाइ पूर्वाधार निर्माण तथा क्षेत्र विस्तार कार्यक्रम” मार्फत यन्त्रहरू वितरण गरिएको हो ।

कालिका मत्स्य पालन कृषि सहकारी संस्था लिमिटेड बढैयाताल–८, बर्दियाले बुधबार एक विशेष कार्यक्रमको आयोजना गर्दै २५ जना मत्स्य पालक किसानहरूलाई विभिन्न प्रकारका कृषि यन्त्र वितरण गरेको जनाएको छ । सोही अवसरमा सार्वजनिक सुनुवाई कार्यक्रम समेत गरिएको छ । सहकारीका सचिव शिव आचार्यका अनुसार परियोजना साझेदारीमा सञ्चालन भएको हो । किसानले ५० प्रतिशत र परियोजनाले बाँकी ५० प्रतिशत अनुदान सहयोग रहेको थियो । कुल २० लाख ८० हजार ३४५ रुपैयाँ बराबरका यन्त्रहरू वितरण गरिएको सचिव आचार्यले जानकारी दिनु भयो ।

यन्त्र प्राप्त गर्ने किसानहरू बढैयाताल गाउँपालिकाको वडा नं. ६, ७ र ८ का छन् । वितरण गरिएका सामग्रीमा ४ इञ्चका पाँच थान बोरिङ, ८ थान समर्सिबल मोटर, २ एचपीका ६ थान, विद्युतीय मोटर, २, लालटिन मोटर, १ थान, एरियटर फाउण्डेशन १ थान, माछा बिक्री ट्यांकी, २ थान, दाना पिस्ने मेशिन २ थान  र माछाका भुरा तथा औषधीलगायतका सामग्री छन् । सार्वजनिक सुनुवाइ तथा यन्त्र वितरण कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष इन्द्रप्रसाद लुइटेलले गर्नुभएको थियो ।

प्रमुख अतिथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई बर्दियाका प्रमुख युवराज वि.क. हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै उहाँले अनुदान कार्यक्रमले माछापालन व्यवसायमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । आगामी दिनमा उत्पादन, क्षेत्र विस्तार तथा बजारीकरणलाई थप प्रभावकारी बनाइ यस क्षेत्रलाई मत्स्य पालनमा उत्कृष्ट नमुना क्षेत्र बनाउन कार्यालयको  सधै नैतिक, भौतिक र प्राविध सहयोग रहने प्रतिबद्धता जनाउनु भयो । 

कार्यक्रमका विशेष अतिथि तथा सहकारीका संस्थापक अध्यक्ष एवम बढैयाताल गाउँपालिका वडा नं. ८ का अध्यक्ष तेजनाथ पौडेलले आधुनिक प्रविधिको सदुपयोग गर्दै माछापालनलाई मुख्य पेशाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । यसले किसानको आम्दानी तथा आर्थिक समृद्धिमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहकारी सदस्य गोविन्दप्रसाद थारुले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहकारीका सचिव शिव आचार्यले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा मत्स्य पालक व्यवसायी, स्थानीय बासिन्दा तथा सञ्चारकर्मीहरूको सहभागीता थियो ।

सम्बन्धित समाचार

Facebook Comments