उच्च शिक्षा अध्ययनको छात्रवृत्ति छुट्याउन राजापुरका मेयर साहेबलाई विनम्र अनुरोध
छप्पुराम चौधरी, १७, राजापुर (बर्दिया) । आजको यो युगमा मानिसको आधारभूत आवश्यकता मध्ये शिक्षा एक अपरिहार्य क्षेत्र र आवश्यकता हो । राजापुर नगरपालिकाले आर्र्थिक बर्ष २०८१/०८२ मा राजापुर नगरपालिका भित्रका गरिब तथा जेहन्दार विद्यार्थीको लागि उच्च शिक्षा अध्ययनार्थ छात्रवृत्ति छुट्याएको थियो । जुन कार्य अति सम्मानित, प्रशंसनीय, राम्रो र सराहनीय थियो । तर आज अचानक यो सुनिँदैछ कि आ.ब. २०८२/०८३ मा उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति कटौती गरिएको सुनिन्छ ।
शिक्षा क्षेत्र देशकै एउटा मेरुदण्ड हो । यो क्षेत्रबाट देशको सर्वाङ्गिण विकासको लागि जनशक्ति उत्पादन हुन्छन् । शिक्षा क्षेत्रलाई देशले, सङ्घले, प्रदेशले, स्थानीय तहले मात्रै हैन व्यक्ति व्यक्तिले पनि मुख्य प्राथमिकता दिनुपर्ने क्षेत्र हो । तर हाम्रो पालिकाले यस क्षेत्रलाई उच्च शिक्षा अध्ययनको लागि छुट्याएको छात्रवृत्ति कटौती गरेर एकदमै नहुने कार्य गरेको मलाई अनुभूति भएको छ । यसलाई पुर्नरबिचार गरेर लग्दा यस क्षेत्रका जनताको मात्रै हैन पार्टी, जाति, धर्म, संस्कृति लगायत सम्पूर्णको लागि अति नै सुन्दर हुनेछ । जसमा पालिकाको पनि कल्याण हुन्छ र सम्पूर्ण जनताको पनि कल्याण हुन्छ ।
राजापुर नगरपालिकाले करोडौं रुपैयाँ जनताले तिरेको करबाट बजेट बनाएको हुन्छ । मेयर साहेबले पार्टीको नीतिमा, आवेशमा, कसैको वहकाइमा, स्वार्थमा जनतालाई मर्कामा पार्ने किसिमको निर्णय गर्नु हुँदैन । राजस्वबाट उठेको पैसाको प्रत्यक्ष लाभ जनतालाई हुनेगरी नीति तथा कार्यक्रमहरू ल्याउनुपर्छ । जनता जननी हुन् । जनता भगवान हुन् । जनता यो देशका खम्बा हुन । जनताकै भोटले तपाईँ यो पालिकाको सर्वोच्च पदमा आसिन हुनुभएको छ । त्यो साझा पद हो । त्यो पदमा पुग्नको लागि कुनै पार्टीको प्रतिनिधि भएर लडे तापनि जित हासिल गरिसकेपछि तपाईं सबैजनाको मेयर हो । त्यो सबै लाई उचित न्याय दिने पद हो । यो पालिकाको सर्वाङ्गीण विकास गर्ने पद हो, आदि आदि ।
त्यसकारण पदको मर्यादालाई कायम गर्दै जनतालाई प्रत्यक्ष लाभको अनुभूति दिलाउन सक्नुपर्छ । यस पालिकामा अधिकतम थारुहरूको बसोबास छ । जसलाई यो राज्यले र केही हाम्रा थारु कथित नेतृत्वहरूले थारु त कमैया र कमलरी हुन भन्ने भाष्य तथा उपमा प्रदान गराउनुभएको छ । जुन मलाई व्यक्तिगत रुपमा अपच भइरहेको छ । हामी थारु प्रकृतिका मालिक थियौ, प्रकृतिका पुजारी थियौ, जल, जमिन र जङ्गलका मालिक थियौ तर हाम्रा पुर्खाहरूले हामीलाई दास को उपमा दियो, राज्यले हामीलाई धब्बा लगायो । जुन कुरा म व्यक्तिगत रुपमा सहन गर्न सकिरहेको हुँदैन आज हामी कमैया र कमलरी भएका छौँ ।
सोही अनुरूप भन्नुपर्दा यसपालिकामा धेरैजसो कमैया, कमलरी, सुकुम्बासी, महिला, दलित, गरिब, विपन्न र पिछडिएका वर्गका छोराछोरीहरू अध्ययन गर्ने क्याम्पस हो अमर सहित बहुमुखी क्याम्पस । उहाँहरूको उच्च शिक्षा अध्ययनको लागि छुट्याएको छात्रवृत्तिलाई अझै व्यवस्थित, दिगो र दीर्घकालीन बनाउँदै लग्नुपर्ने थियो । तसर्थ म यस क्षेत्रका गरिब जनताको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँलाई विनम्र अनुरोध गर्दै यो छात्रवृत्ति को बजेटलाई न कटाइदिनु हुन हार्दिक अनुरोध गर्दछु । सबैको जय होस् ।
(चौधरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय राजापुर नगरपालिका वडा नम्बर ९ गोडियानाका शिक्षक हुनुहुन्छ ।)
२२ °C काठमाडौं
Facebook Comments