नेकपा समाजवादीको सदस्यता साउन महिना भित्रै नविकरण गर्नुपर्ने
चुरेकुञ्ज, २२ असार, बर्दिया । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी बर्दियाको प्रथम पदाधिकारीको बैठक बसी पदाधिकारीहरुको कार्यविभाजन गरेकोछ । जिल्ला अध्यक्ष बखत बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले विभिन्न विभागहरुमा जिम्मेवारी तोक्दै नयाँ सदस्यता र पुरानो सदस्यता नविकरण साउन महिना भित्रै गरिसक्नु पर्ने निर्णय गरेको छ ।
पदाधिकारीहरुको बैठकमा अध्यक्ष बखतबहादुर खड्का पार्टी स्कुल विभाग, उपाध्यक्षद्वय प्रतापकुमार गौतम प्रचारप्रसार विभाग र जनकार्य, बमबहादुर रावल सामाजिक विभाग, सचिव इन्द्रबहादुर रावल संगठन विभाग, उपसचिव त्रय अग्निप्रसाद अर्याल उद्योग वाणिज्य ,आपूर्ति र कृषि, दानबहादुर वुढा युवा विद्यार्थी र खेलकुद, गंगा चालिसेलाई महिला विभाग तोकिएकोछ । यसैगरि निवर्तमान अध्यक्ष प्रेमप्रसाद पोखरेल केन्द्रीय अनुशासन आयोगको सचिवालाय सदस्य भएको र बर्दिया जिल्लाबाट लुम्बिनी प्रदेश कमिटीमा निर्वाचित सम्पूर्ण सदस्यहरुलाई बधाई प्रदान गरेको छ ।
साउन ३ गते शनिबारको दिन बिहान १० बजे जिल्ला कमिटी बर्दियाको पहिलो मिटिङ समेत तोकेको छ । जिल्ला पदाधिकारीको बैठकले ८ वटै स्थानीय कमिटीलाई पार्टी सदस्यता नवीकरण र नयाँ वितरण साउन महिनाभरि गरि सक्न निर्देशन गरेको छ । आगामी दिनमा गर्नुपर्ने कामको जिम्मेवारी बाँडफाँड गर्ने प्रस्ताव जिल्ला कमिटीको बैठकमा लैजाने रहेको छ । यसैगरी जिल्ला उपाध्यक्ष प्रतापकुमार गौतमलाई भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन गर्न बनेको भुमि समस्या समाधान आयोगको कामका बारेमा सरसहयोग गर्न र काम के कसरी भएको छ ।
त्यसकाबारेमा जानकारी लिनुका साथै भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको तथाङ्क तयार पारी जिल्ला कमिटीमा पेश गर्ने जिम्मेवारी तोकेको छ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी बैठकले जिल्लामा सरकारी कार्यालयबाट प्रदान गरिने काममा ढिलासुस्ती र आलटाल गरि सेवाग्राहीकलाई दुःखदिने काम भएको जनगुनासो सुन्न आएकोमा आगामी दिनमा यस्तो दोहोरीन नदिन सचेत गराउने निर्णय गरेको छ ।
Facebook Comments