• २० चैत २०८२, शुक्रवार
  • १५ °C काठमाडौं
ब्यवसायीको विविध मागराख्दै उद्योग वाणिज्य संघद्वारा सिडियोलाई ध्यानाकर्षण (पूर्ण पाठसहित)

चुरेकुञ्ज, १६ साउन, बर्दिया । उद्योग वाणिज्य संघ गुलरिया बर्दियाले प्रमुख जिल्ला अधिकारीलाई ब्यवसायीहरुको विभिन्न मागराख्दै ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष देवेन्द्र पाण्डेको नेतृत्वमा गएको टोलीले प्रजिअ सुरेन्द्र पौडेललाई ४ बुँदे ध्याकर्षण पत्र बुझाएको छ ।

नेपाल–भारत खुलासिमा, सिमा पारिको बजारको प्रभाव, राजस्व असुली र कृषिमा मलखादको आपूर्ति लगायतका विषयहरुको विभिन्न बुँदाहरुमा ध्यानाकर्षण गराईएको अध्यक्ष देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । उद्योग वाणिज्य संघको टोलीले बर्दियामा नयाँ आउनु भएका प्रमुख जिल्ला अधिकारीलाई बधाईसँगै सफल कार्यकालको शुभकामना समेत दिएको छ ।

ध्यानाकर्षण पत्रको पूर्णपाठ :

मिति : २०८२ साउन १६ गते ।

श्रीमानप्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय
बर्दिया, गुलरिया

विषय : नेपाल–भारत खुला सिमा, पारिको बजारको प्रभाव, राजस्व असुली र कृषिमा मल/खादको आपूर्ति सम्बन्धमा ध्यानाकर्षण

श्रीमान,

उपरोक्त सम्बन्धमा उद्योग बाणिज्य संघ बर्दिया, गुलरियाको तर्फवाट प्रमुख जिल्ला अधिकारी ज्युको ध्यानाकर्षण गराउने क्रममा सर्बप्रथमतः नव नियुक्त प्रमुख जिल्ला अधिकारीको रुपमा बर्दिया जिल्लामा पदभार ग्रहण गर्नु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं । 

बर्दिया जिल्ला नेपालको भारत संग सिमाना जोडिएको एक महत्वपूर्ण जिल्ला हो, जसको मुख्य वाणिज्यिक नाका खुला सिमानाबाट संचालन हुदै आएको छ । यस्ता खुला सिमाहरुबाट हुने अवैंध कारोवार तथा सिमा पारिका बजारले नेपाली बजारमा पारिरहेको नकारात्मक प्रभावका कारण यहाँका ब्यवसायी तथा उद्योगी वर्ग मर्कामा परि रहेका छन् । सस्तो मुल्यमा भारतिय वस्तुहरुको अवैध प्रवेशले स्थानिय उत्पादन र बयवसायमा अस्वस्थ प्रतिस्पर्धा सृजना गरेको छ । जसले गर्दा सरकारको राजस्व असुलीमा समेत असर परिरहेको छ ।

यसका साथै जिल्लाको अधिकांश जनसंख्या कृषिमा निर्भर छ । तर प्रत्येक बर्ष मलखाद अभावका कारा किसानहरु समयमा नै कृषि उत्पादन गर्न नसक्ने अवस्था आउने गरेको छ । यसले समेत जिल्लाको समग्र आर्थिक गतिविधिमा असर पुर्याई रहेको छ । अतः उद्योग वाणिज्य संघ बर्दिया गुलरियाको तर्फबाट श्रीमान समक्ष निम्न वुँदाहरुमा विशेष ध्यान दिन अनुरोध गर्दछौं ।

- खुला सिमाबाट हुने अवैध कारोवार नियन्त्रण तथा सिमा क्षेत्रमा निगरानी थप प्रभावकारी बनाउने ।
-सिमा पारिका बजारहरु संग प्रतिस्पर्धा गर्न नेपाली व्यवसायीलाई संरक्षण दिने निति र ब्यवस्था अवलम्वन गर्न पहल गर्ने ।
- सरकारको राजस्व असुलीलाई प्रभावकारी बनाउने व्यवस्था मिलाउने ।
- कृषिमा निर्भर किसानहरुलाई समयमा नै गुणस्तरिय मलखाद उपलब्ध गराउन सम्बन्धित निकायहरुसँग समन्वय गरी तत्काल पहल गर्ने ।

यस संघको तर्फबाट प्रमुख जिल्ला अधिकारी ज्यूको कार्यकालमा यस्या जटिल समस्याहरुको समाधानतर्फ सार्थक पहल हुने विश्वास लिएका छौं ।
शुभकामना सहित,

देवेन्द्र पाण्डे
अध्यक्ष

सम्बन्धित समाचार

Facebook Comments