राजापुरको मंगलवारे हाटबजारमा फलफूल तथा तरकारीको विषादी परिक्षण
केशव कोईराला, २१ साउन, राजापुर (बर्दिया) । खाद्य गुणस्तर तथा प्रविधि कार्यालय नेपालगंज र राजापुर नगरपालिका बीचको सहकार्यमा राजापुर नगरपालिका स्थित मंगलबारे हाटबजारमा विक्री वितरण गरिने खाद्य वस्तुहरुको विषादी जांच तथा अनुगमन गरिएको छ । टोलीले बजारमा बिक्रीका लागि ल्याइएका तरकारी तथा फलफूलमा प्रयोग गरिएका विषादीको मात्रा परीक्षण गरेको छ ।
अनुगमन कार्यको उद्देश्य उपभोक्तालाई सुरक्षित, विषादीमुक्त तथा गुणस्तरीय खाद्य वस्तु सुनिश्चित गर्नु रहेको जनाइएको छ । राजापुर नगरपालिकाका रोजगार संयोजक रमेश पोख्रेलका अनुसार, अनुगमन टोलीले विभिन्न व्यापारीहरूसँग प्रत्यक्ष संवाद गरी विषादी प्रयोगबारे जानकारी लिएको र केही स्थानमा तुरुन्तै प्रयोग परीक्षण समेत गरिएको जानकारी दिनुभयो ।
“हामीले बजारमा उपलब्ध तरकारी तथा फलफूलको स्याम्पल संकलन गरी मोबाइल ल्याब प्रयोग गरेर विषादीको अवशेष परीक्षण गरेका थियौं,” संयोजक पोख्रेलले भन्नुभयो, “सामान्यतः तरकारीहरूमा विषादीको मात्रा सहनीय सीमाभित्र देखिएको छ, तर केही वस्तुहरू माथि थप परीक्षण आवश्यक देखिएको छ ।” तरकारी र फलफूल परिक्षण लागी नमुना लिई नेपालगञ्ज लगिएको खाद्य अनुसन्धान अधिकृत एक राज बुढाथोकीले बताउनुभयो ।
स्थानीय व्यवसायीहरूलाई सचेत पार्दै, भविष्यमा विषादी प्रयोगमा सावधानी अपनाउन आग्रह गरिएको छ । साथै, नगरपालिकाले यस्ता अनुगमन गतिविधिहरू नियमित रुपमा सञ्चालन गर्ने बताइएको छ । उक्त अनुगमन कार्यक्रममा खाद्य प्रविधिक, नगर प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
२४ °C काठमाडौं
Facebook Comments