• २० चैत २०८२, शुक्रवार
  • १५ °C काठमाडौं
जिविकोपार्जन समूहका सदस्यलाई मौसमी तथा बेमौसमी खेती सम्वन्धि तालिम

केशव कोईराला, २५ साउन, राजापुर (बर्दिया) । बर्दियाको ठाकुरवावा नगरपालिकावडा नम्बर ४ सैनावारमा जीविकोपार्जन समूहका सदस्यहरूका लागि मौसमी तथा बेमौसमी खेतीसम्बन्धी दुई दिने तालिम आइतवारदेखि शुरु भएको छ । जेटएसएल नेपालको सहयोगमा उज्यालो नेपालद्वारा सञ्चालित एलएचडब्लुएल नेपाल परियोजना अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेले बताउनु भएको छ । 

यस किसिमका तालिमहरु बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका २१ वटा जीविकोपार्जन समूहलाई समेटेर सञ्चालन भैरहेका छन । उक्त परियोजना अन्तर्गत गठन गरिएका जीविकोपार्जन समूहको कोषमा ६ देखि ८ लाख रकम उपलब्ध गराइएको र बार्षिक अधिकतम ६ प्रतिसत ब्याज दरमा समूहका सदस्यलाई ऋण उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । तालिममा सहभागी कृषकहरुलाई मौषमी र बेमौषमी तरकारी तथा बाली उत्पादनका लागि आवश्यक प्रविधि, बीउ व्यवस्थापन, रोग–कीरा नियन्त्रण र बजार व्यवस्थापनका विषयमा ज्ञान प्रदान गरिँदैछ । 

यसका साथै जलवायु परिवर्तनसँग सम्बन्धित कृषि अभ्यास, खेतीको तालिका व्यवस्थापन र सिंचाइ प्रविधि प्रयोगबारे पनि व्यावहारिक प्रशिक्षण दिइने जनाइएको छ । कार्यक्रमको उद्घाटन सत्रमा ठाकुरबाबा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष अमिन थारु, उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपाने र बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन रमेश थापाले यस किसिमका तालिमहरूले कृषकलाई आत्मनिर्भर बनाउन र कृषिजन्य आम्दानी बढाउन सहयोग गर्ने मन्तब्य दिएका थिए । 

तालिममा कृषि विज्ञ तथा प्रशिक्षकहरूले विभिन्न प्राविधिक सत्र सञ्चालन गर्ने बताईएको छ । यो तालिम सम्पन्न भएपछि सहभागी कृषकहरूले आफ्ना खेतबारीमा नवप्रविधि प्रयोग गरेर मौषमी र बेमौषमी दुवै प्रकारका खेती विस्तार गर्ने अपेक्षा गरिएको छ । यस्ता तालिमहरु सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नं ५ हात्तीखाल र गेरुवानी, बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं ९ ढकैला र खैरेनीमा सम्पन्न भैसकेका छन । अन्य स्थानमा क्रमशः तालिम सञ्चालन गरिने उज्यालो नेपालले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments