• २० चैत २०८२, शुक्रवार
  • १५ °C काठमाडौं
बर्दियामा १२ हजार सवारी कारबाहीबाट ९३ लाखभन्दा बढी राजस्व 

दलबहादुर सुनार, १ भदौ, बर्दिया । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनविरुद्ध कडाइ गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले गत आर्थिक वर्षमा ९३ लाख ६७ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष ०८१/८२ मा १२ हजार ३ सय २५ सवारीसाधन ट्राफिक नियम उल्लंघनमा परेका थिए । 

तीव्र चेकजाँच र सर्तकताकाका कारण कारबाहीमा परेकाहरूबाट ९३ लाख ६७ हजार ३२५ रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुधिर कुमार खड्काले जानकारी दिनुभयो । सो अवधिमा बस ९ सय ८, ट्रक २ हजार ४ सय ९४, मोटरसाइकल ५ हजार ३१, ट्र्याक्टर ९ सय ७७, अटो १ हजार १७४ र जीप–कार १ हजार ६४१ वटा सवारीसाधन कारबाहीमा परेका थिए । अघिल्लो आर्थिक वर्ष ०८०÷८१ मा ट्राफिक कारबाहीबाट १ करोड १२ लाख १४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको थियो । 

प्रमुख खड्काले भननुभयो, “सवारी चालकहरूले अनलाइनमार्फत जरिवाना तिर्न थालेपछि कार्यालयमा प्रत्यक्ष रूपमा देखिने राजस्वको परिमाण घटेको हो ।” ट्राफिक प्रहरीले गत वर्ष सडक दुर्घटनाको न्यूनीकरण तथा ट्राफिक नियमको पालना सुनिश्चित गर्न ८ सय २२ पटक विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गरेको थियो । यसबाट झण्डै ३५ हजार नागरिक सचेत भएका प्रहरी निरीक्षक खड्काले बताए । उहाँले भन्नुभयो, “जबसम्म पैदलयात्री, साइकल यात्री, चालक र यात्रु स्वयं अनुशासित हुँदैनन् तबसम्म दुर्घटनाको दर घट्न सक्दैन ।”

बर्दियामा पछिल्ला तीन वर्षमा २६२ वटा सवारी दुर्घटनामा १ सय ५ जनाले ज्यान गुमाएका थिए । तर आर्थिक वर्ष ०८०/८१ मा दुर्घटनाको संख्या बढेर ४ सय ८२ पुगेपनि मृतक संख्या घटेर ३८ मा सीमित भएको ट्राफिक कार्यालयले जनाएको छ । मृतकमध्ये २७ जना पुरुष, ४ महिला, ४ बालक र १ बालिका रहेका छन् । सडकमा कडा निगरानी र सचेतनासँगै पछिल्लो समय सिट क्षमता भन्दा धेरै यात्रु राख्ने, तिव्रगती, ओभरलोड, छतमा यात्रु तथा सामान राख्ने तथा मापसे गरेर सवारी चलाउने प्रवृत्तिमा उल्लेखनीय गिरावट आएको ट्राफिक प्रहरी निरीक्षक खड्काले बताउनु भयो । 

उहाँका अनुसार हुलाकी राजमार्ग लगायत विभिन्न सडक खण्डमा नियमित चेकजाँच र स्कूल तथा समुदायस्तरमा ट्राफिक नियम सम्बन्धी कक्षाहरू संचालन हुँदै आएको छ । “हामी चालकको व्यवहार, सीप र दक्षतामा सुधार ल्याइ दुर्घटना न्यूनीकरण गर्ने मूल उद्देश्यसहित काम गरिरहेका छौँ, मात्र राजस्व संकलन हाम्रो लक्ष्य होइन उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार

Facebook Comments