नेपालमा मल अभाव : भारतीय बजारमा रजगज
यादव आचार्य, १ भदौ, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ निवासी प्रमोद कुमार यादव धानको लागि मल नपाएर छट्पटिएका छन् । लामो समय पानी अभाव खेपेका उनले आकासे पानीको भरमा बल्लतल्ल रोपाई सक्दा पनि धानमा मल हाल्ने बेलामा मल नपाउँदा उनी बडो चिन्तित छन् । नगर क्षेत्रका सबै सहकारी एवम् डिपोहरु चाहारे कतै मलको जोहो गर्न सकेनन् ।
मानो रोपेर बर्षभरीको लागि मुरी उब्जाउने उनको सपना मलले तुहाईदिएको छ । लगानी प्रशस्त छ । मिहिनेत पनि उत्तिकै । तर आवस्यक पर्दा कसरी मल छैन । उनले भने अब त खेती किसानी छाडेर विदेश जानको लागि प्रकृया गर्छु । विगतका बर्षहरुमा नेपालमा मल नपाउँदा भारतबाट मल ल्याएर भएपनि गुजारा चलेकै थियो । यहाँ मल नपाउने भएपछि सिमावर्ती भारतीय बजारमा मल किनि नसक्नु छ । भारतीय बजारहरुमा बजार मुल्यभन्दा दोब्बर, तेब्बर महँगो मलको मुल्य छ । हामी विपन्न किसानहरुले कसरी किन्न सक्छौ ? उनले भने, सरकारले किसानहरुलाई मल उपलब्ध गराउनु पर्ने हो कुनै वास्ता छैन ।
नेपालमा मल सहज भएपछि मात्र भारतीय सीमावर्ती बजारहरुमा मलको मुल्य घट्छ । भारतमा मलको वास्तविक मुल्य एकदम सस्तो छ । तर नेपालमा अभाव भएपछि सीमावर्ती ब्यापारीहरुले कालोबजारी गर्ने गरेको उनले बताए । गुलरिया नगरपालिका वडा नम्बर ७ निवासी सुभाष कुमार पोखरेल पनि मल नपाएर तड्पिएका छन् । एक महिना देखि मलको पर्खाईमा छु कतै मल पाउँदिन । उनले भने सहकारीहरुमा पुग्यो मलको लागि सधैं हाहाकार र झगडा भैरहन्छ । मल आएपछि एकबोरा मल ४ जनाले बाँडेर पाउने गरेको दुःखेसो उनले पोखे । मल आवस्यक पर्ने बेलामा सरकारले पूर्ण ब्यवस्था गर्नुपर्ने उनको भनाई छ । अर्का किसान सुरेश यादवले धानमा पानी पुगेपनि मलकै समस्या भएको बताए ।
सहकारीहरुमा मल आएको खबर पाउनासाथ दिनभरि लाइन लागेपनि आवश्यक मल नपाएको गुनासो पोखे । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले किसानको माग अनुसार रासायनिक मल आपूर्ति गर्न नसक्दा मलको अभाव खट्किएको छ । बर्दियामा प्रत्येक वर्ष धान खेतीका लागी १२ हजार मेट्रिक टन युरिया आवश्यक पर्दछ । किसानलाई आवश्यक पर्ने मल माग गरिएको भएपनि हाल सम्म ६ सय ८३ दशमलव ६८१ मेट्रिक टन मात्र आएको कृषि सामग्री लिमिटेड बर्दियाका प्रमुख लाल बहादुर थारुले जानकारी दिए ।
सरकारले पलिकामा वडा अनुसार मल आपूर्तिको लागि सुचिकृत सहकारीहरुलाई जिम्मेवारी तोकेपनि किसानहरुको माग अनुसार मल नआएको रातोतारा सहकारी संस्था लिमिटेड गुलरिया बर्दियाका अध्यक्ष मेघराज सिग्देलले बताए । हामीलाई किसानहरुको माग थेग्नै हम्मेहम्मे छ । आवस्यक मल आउँदैन । उनले भने, किसानहर सहकारीलाई दोष थोपार्छन् हामीले के गर्ने । आएको मलको कोटा तत्कालै सकिन्छ । एक वोरा मल ४ जना किसानलाई भाग लगाएर बाडेंका छौं । उनले थपे, विगतका बर्षहरुमा किसानहरुले भारतबाट मल ल्याउँथे । यसबर्ष भारतमा मलको मुल्य चर्को भएपछि किसानहरुले भारतबाट मल ल्याएका छैनन् । जसले गर्दा मलको माग धेरै छ । आपूर्ति न्युन छ ।
मलखाद अभाव भोगिरहेका बर्दियाका किसानहरूले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउगर्दै प्रर्दशन पनि गरेका छन् । धान खेतीको लागि महत्वपूर्ण समयमा आवश्यक मल नपाएर बाली उत्पादनमा संकट तर्फ किसानहरु चिन्तित छन् । उनीहरुले कृषिमन्त्रीको तत्काल राजीनामा मागगर्दै नाराबाजी गरेका छन् । किसानहरुले जिल्ला प्रशासन कार्यालय बर्दियाको गेट अगाडी “मल दे, खेती बचाऊ”, “कृषिमन्त्री राजीनामा दे” लगायतका नाराबाजी नै गर्दै मलखादको तत्काल आपूर्ति र दीर्घकालीन समाधानको मागसहित ज्ञापनपत्र समेत बुझाएका छन् । किसानका मागहरु पूरा नभए थप सशक्त आन्दोलनमा उत्रिने उनीहरले चेतावनी दिएका छन् ।
किसानहरुले जिल्ला प्रशासन कार्यालयमा बुझाएको ज्ञापन पत्र गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय तथा कृषि मन्त्रालयमा तत्काल पठाईएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । मलको सरकारी कोटा पुग्न नसकेको अवस्थामा घरमा भएका प्रांगारिक मललाई पनि प्राथमिकता दिनुपर्ने उनले सुझाए । भारतीय मलहरु गुणस्तरिय नहुन पनि सक्ने भएकाले किसानहरुले माग गरे सरकारले मान्यता दिएका वैकल्पिक मलहरु साल्ट ट्रेडि∙ कर्पोरेशन मार्फत झिकाउन पहल गर्न सकिने प्रजिअ पौडेलको भनाई छ । साभार : अन्नपूर्ण पोस्ट् ...
१५ °C काठमाडौं
Facebook Comments