• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
बढैयातालको खेल विकासको लागि दलित महिला वडा सदस्यद्वारा सहयोग

दलबहादुर सुनार, बढैयाताल (बर्दिया) । मयुर युवा क्लब बढैयातालले छैटौं जिल्ला स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको सार्वजनिक सुनुवाइ गरेको छ । गत वैशाख ३ गतेदेखि १० गतेसम्म सञ्चालन गरिएको प्रतियोगिताको मंगलबार सार्वजनिक सुनुवाइ गरेको हो । 

कार्यक्रममा वडा नम्बर ८ की दलित महिला सदस्य कृष्णकला सुनारले खेल विकासका लागि पाँच हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको छ । क्लबले प्रतियोगिता सञ्चालनमा भएको आम्दानी र खर्चको यथार्थ विवरण सार्वजनिक गर्ने परम्परा अनुसार सार्वजनिक सुनुवाई गरेको हो । प्राविधिक कारणले प्रतियोगिता गरिएको पाँच महिनापछि सुनुवाइ गरिएको भएपनि विगतमा महिना दिनमै सार्वजनिक सुनुवाइ गर्ने परम्परा रहेको क्लबका कोषाध्यक्ष सम्शेर मल्ल (शैलेन्द्र) ले बताउनु भयो । 

कोषाध्यक्ष मल्लले प्रतियोगिता सञ्चालनको क्रममा भएको पाँच लाख ९ हजार ४६१ रुपैयाँको आय–व्ययको विवरण प्रस्तुत गर्नुभयो । प्रमुख अतिथि  वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलले मयुर युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गरेर पालिकालाई जिल्लामा चिनाउने मात्र नभई ऊर्जाशील युवालाई खेलमा संलग्न गराई सकारात्मक तथा रचनात्मक गतिविधिमा सक्रिय बनाएकोमा धन्यवाद दिँदै खेलकुद विकासलाई निरन्तरतासँगै आगामी सातौं अध्यक्ष कप फुटबल प्रतियोगिता सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकोले वडाको तर्फबाट कुनै कमी हुन नदिने प्रतिबद्धता गर्नुभयो ।

छैटौं अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न गर्न वडा कार्यालयबाट एक लाख ५० हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो । बाँकी रकम विभिन्न संघ–संस्था, विद्यालय, सामुदायिक वन, उद्योगी–व्यवसायी, क्लबका पूर्व खेलाडी र खेलप्रेमीहरूको सहयोगबाट संकलन गरिएको थियो । खेलकुद  प्रतियोगिताको उद्घाटनका क्रममा बर्दिया क्षेत्र नं १ का संघीय सांसद सञ्जय कुमार गौतमले क्लबको खेल मैदानको स्तरोन्नतिको लागि एक करोड रुपैयाँको बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएकोले रातो किताबमा समेटिएको तर देशको बदलिँदो परिस्थितिका कारण बजेट कार्यान्वयनबारे अनिश्चितत रहेको क्लबका सदस्य हिक्मत सुनारको भनाई छ । 

सम्बन्धित समाचार

Facebook Comments