• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
दशैंमा बजार मुल्य नपाउँदा केरा कृषक मर्कामा 

विष्णु प्रसाद अधिकारी, ७ असोज, बर्दिया । बर्दिया जिल्ला कृषि बाली उत्पादनका लागि उर्भरा भूमि मानिन्छ । बर्दियाका किसानहरुले करिब ५ सय हेक्टरमा केरा खेती गर्दै आईरहेका छन् । यहाँ उत्पादन हुने केराको लागि बजार ब्यवस्थापन नहुँदा किसानहरु लागत अनुसारको बजार मुल्य प्राप्त नहुँदा निरास हुदै गइरहेका छन् । 

नजिकिदै गइरहेको चाडबाडमा भारतीय केराहरु ठुलो मात्रामा आयात हुँदा नेपाली केराले बजार नपाएको हो । बजार नपाएपछि केरा खेतीगर्ने किसानहरुले न्यून मूल्यमा केरा बेच्न बाध्य भएको किसानहरुले दुःखेसो पोखेका छन् । बर्दिया जिल्लामा केरा खेतीबाट बार्षिक ४० करोडको कारोबार हुने गरेको केरा किसानहरु बताउँछन् । गुलरिया नगरपालिका वडा नं. ४  सिर्जना टोलका टोपलाल वि.क.ले १२ विगाहा जमिन भाडामा लिएर विगत १४ बर्ष देखि केरा खेतीगर्दै आएपनि सरकारले नेपाली किसानको पिडा नबुझ्दा मर्कामा परेको बताउनु भयो । 

चाडबाड नजिकिदै गएको समयमा पनि केराले बजार मुल्य नपाउँदा लगानी डुब्ने चिन्ताले पिरोलिरहेको उहाँको दुखेसो छ । बर्दिया जिल्लामा १५ हजार मेट्रिक टन केरा उत्पादन हुने भएता पनि उचित बजार सरकारले ब्यवस्थापन नगर्दा किसान मर्कामा छन् । कृषि विमामा पनि सरकारले ध्यान नदिएका कारण पनि समस्या दिन प्रतिदिन बढ्दै गइरहेको उहाँ बताउनु हुन्छ । केरा खेती गर्ने किसानलाई पनि गहुँ, मकै, धान लगाउने किसानलाई जस्तै  विद्युत महसुल सहुलीयत दरमा उपलब्ध गराउनु पर्ने सम्बन्धित निकायसँग उहाँको माग छ । 

भारतबाट आयात हुने केरा रोक्नु पर्ने मागगर्दै स्थानीय कार्यालय देखि अर्थ मन्त्रालय, कृषि मन्त्रालय सम्म धाउँदा पनि समस्या समाधानका लागि सम्बन्धित निकायले चाँसो नदेखाएको उहाँको दुःखेसो छ । गुलरिया नगरपालिका वडा नं. ५ मा केरा खेती गरिरहेका शम्भु प्रसाद अधिकारीले गत बर्ष ५ सय रुपैया प्रति क्यारेट विकेको केरा यस बर्ष ३ सय रुपैयामा बेच्न परिरहेको हुँदा किसान मारमा परेको प्रष्ट पार्नुभयो । नजिकिदै गइरहेको दशै तिहार जस्ता चाडबाडमा उत्पादन भएको केरा विक्री नभएमा किसानको लगानी खेर जाने भएकाले किसानको मर्का बुझिदिन सम्बन्धित निकायलाई उहाँको आग्रह छ । 

अधिकारीले केराको बजारीकरणका साथै केरा खेतीका लागि चाहिने विभिन्न किसिमका आवश्यक बस्तु उपलब्ध गराउन सकेमा किसान तथा उपभोक्तालाई राहत हुने बताउनु भएको छ । बर्दियामा केरा जोन कार्यक्रम लागु भएपछि करिब ५ सय हेक्टर क्षेत्रफलमा करिब ७ सय घर परिवार केरा खेतीमा संलग्न छन् । जसमध्ये करिब ४ सय हेक्टर क्षेत्रफलमा केरा खेती गर्ने किसान गुलरिया नगरपालिका भित्रका छन् । 

बर्दियामा केरा खेती गर्ने किसानहरुले केरा पकाउने र स्टोर गर्न मिल्ने च्याम्बर, केराको बेर्ना उत्पादन गर्ने नर्सरी, केराको थामलाई प्रशोधन गरि रेशा निकाल्ने उद्योग स्थापना गरी केरा खेतीलाई ब्यवस्थीत गर्दै लगिरहेका छन् । राज्यबाट पनि केरा खेतीमा लगानी गरेमा बर्दियामा रोजगारी सिर्जना हुन सक्ने देखिन्छ । किसानहरुले कृषि बजार तथा उत्पादित बस्तुको सहि मुल्य नपाउँदा मर्कामा पर्दै गइरेहका छन् । 

चुरेकुञ्ज साप्ताहिक पत्रिकाद्वारा सञ्चालित चुरेकुञ्ज डटकममा प्रकाशित समाचारहरु साभार नगरी केही अनलाईन पोर्टल तथा पत्रिकाहरुमा प्रकाशित भएको पाईएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ । कुनै पनि मिडियामा प्रकाशित समाचार सामाग्रीहरु अनुमति वा साभार नगरी प्रकाशन गर्नु डण्डनीय छ । यसमा प्रकाशित समाचार सर्वाधिकार चुरेकुञ्जको रहने भएकाले त्यसो नगर्न सम्पूर्णमा जानकारी गराउँदै साभार नगरी समाचार कपी गरेको पाईए कानूनी प्रकृयामा जाने ब्यहोरा अवगत गराउँदछौं । -सम्पादक

सम्बन्धित समाचार

Facebook Comments