• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
कवर्डहलमा खेलाडीमाथि नगरप्रमुखको अपमानजनक व्यवहारभन्दै खेलाडीद्वारा आपत्ती (विज्ञप्ती सहित) 

केशव कोईराला, १४ असोज, राजापुर (बर्दिया) । राजापुर नगरपालिका वडा नम्बर ५, त्रिवेणी बजार (कौवाबजार) स्थित नगरपालिकाको कवर्डहलमा नियमित रूपमा ब्याडमिन्टन खेल्दै आएका खेलाडीहरू माथि नगर प्रमुखसहितको टोलीले दुव्र्यवहार गरेको भन्दै भौराटप्पा ब्याडमिन्टन ग्रुपले कडा आपत्ति जनाएका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारीगर्दै उहीहरुले घटना सार्वजनिकगर्दै घटना नदोहरिन छलफल गर्नुपर्ने बताएका छन् । 

असोज ४ गते साँझको समयमा नगर प्रमुखसहितको समूह हलमा प्रवेश गरी खेलाडीहरूलाई अपमानजनक व्यवहार गर्दै कोर्टबाट जबरजस्ती हटाउने कार्य गरेको उनीहरुको आरोप छ । खेल समूहका केही सदस्य मदिरा सेवनको अवस्थामा रहेको र नगरप्रमुख स्वयंले समेत दुव्र्यवहारपूर्ण व्यवहार प्रदर्शन गरेको विज्ञप्तीमा उल्लेख छ ।

नगरप्रमुखको टोलीका केही सदस्यहरूले “हतियार लिएर लखेट्नुपर्छ” भन्ने जस्ता उत्तेजक शब्द प्रयोगगर्दै खेलाडीहरूलाई कवर्ड हलमा धम्क्याउनु जस्तो व्यवहारले खेलाडीहरूबीच त्रासको वातावरण सिर्जना गरेको र खेलमैदानको मर्यादा भंग भएको समूहको आरोप छ । भौराटप्पा ब्याडमिन्टन ग्रुपले कवर्डहल कुनै व्यक्तिको निजी सम्पत्ति नभई सम्पूर्ण नगरबासीको साझा सम्पत्ति भएकोभन्दै त्यहाँ खेलाडीहरूमाथि गरिएको अपमानजनक व्यवहारलाई “अस्वीकार्य र नगरको मर्यादाविपरीत” भएको स्पष्ट पारेको छ । 

“मदिरा सेवन गरी सार्वजनिक खेल पूर्वाधारमा यसप्रकारको कार्य गर्नु नगरको गरिमा विपरीत घटना हो,” विज्ञप्तिमा भनिएको छ । घटनापछि समूहले पाँच बुँदे माग अघि सारेको छ । नगरप्रमुखले आफ्नो गल्ती स्वीकार गरी खेलाडीहरूसँग छलफल गर्नुपर्ने, घटनाको निष्पक्ष छानबिन गरिनु पर्ने, सवै खेलाडीको समान पहुँच सुनिश्चित हुने गरी नियमावली लागू गरिनु पर्ने, खेल पूर्वाधारमा राजनीतिक वा व्यक्तिगत दादागिरी निषेध गरिनु पर्ने, कवर्डहल व्यवस्थापनमा समूहसँग समन्वय गरिनु पर्ने लगायतको मागहरु विज्ञप्तीमा उल्लेख छ ।

समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “खेल भनेको एकता, मर्यादा र स्वच्छ प्रतिस्पर्धाको प्रतीक हो तर यसप्रकारको व्यवहारले खेल वातावरण मात्र होइन, सम्पूर्ण नगरको छवि नै बिगारेको छ ।” यदि उठाइएको मागलाई तुरुन्त सम्बोधन नगरिए समूहले थप विरोधका कार्यक्रम अगाडि बढाउने चेतावनी समेत दिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments