राजापुर स्थित सुपथ मूल्य पसलबाट करिव पौने २ लाखको चामल बिक्री
केशव कोईराला, २० असोज, राजापुर (बर्दिया) । चाडपर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले सञ्चालन गरेको सुपथ मूल्य पसलमार्फत एक लाख सत्तरी हजार सात सय पचास रुपैयाँ मूल्य बराबरको चामल बिक्री गरेको छ । भदौ ३० गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलबाट तीन थरीका गरी कुल २८ क्विन्टल चामल बिक्री भएको कार्यालयका प्रमुख कमलराज पाण्डेले जानकारी दिनुभयो ।
कम्पनीले बिक्री गरिरहेको चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको थियो । प्रमुख पाण्डेका अनुसार सुपथ मूल्य पसलमा स्थानीय उपभोक्ताहरूको चाडपर्व नजिकिँदै जाँदा चामल खरिदमा विशेष चाँसो बढ्दो क्रममा छ । पसलमार्फत चामलका २५–२५ किलोका बोरा बिक्री भइरहेको र मागअनुसार प्रर्याप्त परिमाणमा आपूर्ति सुनिश्चित गरिएको उहाँको भनाई छ ।
सुपथ मूल्य पसल आगामी कार्तिक १० गतेसम्म सञ्चालनमा रहनेछ । उक्त अवधिमा राजापुर शाखालाई दुई हजार क्विन्टल चामल बिक्रीको अनुमति प्रदान गरिएको छ । कम्पनीले स्थानीय उपभोक्ताको आर्थिक भार कम गर्नका लागि बजार मूल्यभन्दा सस्तो दरमा चामल उपलब्ध गराइरहेको बताईएको छ ।
Facebook Comments