• २० चैत २०८२, शुक्रवार
  • १५ °C काठमाडौं
लक्ष्यदिप सहकारी बाँसगढीको बजेट साढे ५ करोड भन्दा बढी

विन्दु चौधरी, २२ असोज, बाँसगढी (बर्दिया) । लक्ष्यदिप सामाजिक उद्यमी महिला सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभामा ५ करोड ६० लाख ४ सय ८९ रुपैया बराबरको आयव्यय पारित भएको छ । बाँसगढी नगरपालिका वडा नम्बर ४ स्थित कर्भडहलमा भएको कार्यक्रममा सहकारीकी अध्यक्ष सरला कुमारीको अध्यक्षतामा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । 

संस्थाले थारु महिला उत्थान केन्द्र गुलरिया, हेफर इन्टरनेशनल नेपाल लगायत स्थानीय तहसँग समन्वय गरेर महिलालाई बाख्रापालन, तरकारी खेती लगायतका कृषि व्यवसायमा जोड्दै लगेको अध्यक्षले जानकारी दिनुभयो । गत वर्ष किसानहरुले उत्पादन गरेका ६ सय ८७ वटा (२३ हजार ५ सय ४५ केजी) खसीबोका संस्थामार्फत खरिद–विक्री गरिएको थियो । उक्त खसीबोकाको खरिद मूल्य १ करोड २५ लाख ८९ हजार ६ सय १ रुपैयाँ र विक्री मूल्य १ करोड २८ लाख ५१ हजार ५ सय ५८ रुपैयाँ रहेको बताइएको छ । त्यस्तै, संस्थाले किसानहरुलाई १० लाख ३३ हजार ५ सय ४ रुपैयाँको रासायनिक मल सहुलियत दरमा वितरण गरेको प्रबन्धक शान्ता सुवेदीले जानकारी दिनुभयो । 

साथै, बाख्रा पालनमा संलग्न शेयर सदस्य किसानलाई प्रत्येक वर्ष १।१ वटा बाख्रा उपहार स्वरूप वितरण गर्दै आएको सहकारीले जनाएको छ । यस वर्ष देवु विक, चन्द्रा खत्री, शुसिला परियार र सिमा थारुलाई बाख्रा उपहार दिइएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा सहकारीको शेयर पुँजी ४९ लाख ८८ हजार ८ सय रुपैयाँ, जगेडा कोष ३० लाख २० हजार ९ सय ८ रुपैयाँ, कर्जा लगानी २ करोड १८ लाख २९ हजार ८ सय ९९ रुपैयाँ, शुद्ध नाफा ६ लाख ३० हजार ८ सय ८४ रुपैयाँ, बचत २ करोड ३८ लाख ४६ हजार ८६ रुपैयाँ र कुल सम्पत्ति ४२ लाख २५ हजार ६ सय ८७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । 
सहकारीले यस वर्ष पनि विभिन्न विधामा उत्कृष्ट सदस्यलाई सम्मान गरेको छ ।

असल बचतकर्ता लिला पुन, असल ऋणी गोमा चापागाई, बाल बचतकर्ता जेविशा थारु, तरकारी व्यवसायी मना थारु र निलम थारुलाई सम्मानगर्दै गमला र हजारी प्रदान गरिएको छ । जेष्ठ सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रमको सञ्चालन व्यवस्थापक विष्णुमाया थारुले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष लक्ष्मी पाण्डेले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि बाँसगढी नगर प्रमुख खडक बहादुर खड्काले सहकारी संस्थालाई कृषि र उत्पादनसँग जोड्न आग्रह गर्नुभएको छ । नगरले सहकारी संस्थाहरुसँग समन्वय र सहकार्य गरेर आर्थिक रूपान्तरणतर्फ जोड दिने उहाँको प्रतिबद्धता छ ।

सम्बन्धित समाचार

Facebook Comments