बढैयातालको दिपलगन सहकारीका महिलाहरू सम्मानित
दलबहादुर सुनार, ३० असोज, बढैयाताल (बर्दिया) । दिपलगन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड बढैयाताल बर्दियाले १४ औं वार्षिक साधारण सभामा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने २६ जना महिला सदस्यलाई सम्मान गरेको छ । सहकारीकी अध्यक्ष पवित्रा कुमारी अर्यालको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि तेजनाथ पौडेलले असल ऋणी, ज्येष्ठ, एकल तथा उद्यमशील महिलालाई दोसल्ला ओढाई सम्मान गर्नुभएको छ ।
बढैयाताल गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि तेजनाथ पौडेलले धेरै खसीबोका बिक्री गर्ने १२ जना महिला, ज्येष्ठ महिला ५ जना, एकल महिला ४ जना र असल ऋणी तर्फका ५ जना गरी कुल २६ महिला सदस्यलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सहकारीका सदस्यमध्ये विपन्न परिवारका जेहेनदार ७ छात्र छात्रालाई स्टेसनरी सामाग्री वितरण गरिएको र जटिल रोगबाट पीडित ३ सदस्यलाई जनही तीन हजार पाँच सय रुपैयाँका दरले आर्थिक सहयोग गरिएको सहकारीले जनाएको छ ।
अध्यक्ष पौडेलले सहकारीको सदस्य महिलाहरूको सीपलाई व्यवसायमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “इच्छाशक्ति भए असम्भव केही हुँदैन । सफल उद्यमी शान्ता चौधरीको उदाहरणले देखाउँछ— गाउँमै उत्पादन हुने वस्तुलाई विविधीकरण गरेर देशविदेशसम्म ब्रान्ड बनाउन सकिन्छ ।” महिलालाई आफ्नै बारीमा तरकारी, फलफूल उत्पादन गर्न तथा पशुपंक्षी पालन मार्फत आयआर्जनमा जोड दिन उहाँको आग्रह छ । सहकारीकी अध्यक्ष पवित्रा अर्यालले आर्थिक वर्ष ०८१÷८२ को प्रगति तथा व्यवस्थापक प्रतिमा लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सहकारीमा हाल १ हजार ४ सय ५ जना शेयर सदस्य छन् । संस्थाले आर्थिक वर्ष ०८१÷८२ मा ४ करोड ६६ लाख ६१ हजार ८ सय ९८ रुपैयाँको कारोबारबाट १० लाख ८७ हजार ९४० रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ । ३७ लाख ४४ हजार ७ सय रुपैयाँ शेयर पूँजी रहेको सहकारीले बचत तथा ऋण कारोबारसँगै बाख्रा पालनमा सदस्यहरूलाई प्रोत्साहन गर्दै ऋण लगानी गरेको छ । सहकारीले आफ्ना सदस्यले उत्पादन गरेका खसीबोका उचित मूल्यमा खरिद गरी बोनस वितरण गर्दै आएको जनाएको छ ।
किसानको मागअनुसार रासायनिक मलको खरिदबिक्री सेवाबाट पनि सदस्य लाभान्वित भएका छन् । साधारण सभामा जिल्ला सहकारी सङ्घ बर्दियाका उपाध्यक्ष नेत्र प्रसाद सापकोटा, बोडर विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष टुकराज घिमिरे र सहकारी उत्प्रेरक शोभाकान्त पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन सचिव कमला सापकोटाले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष लोककुमारी पौडेलले गर्नुभएको थियो ।
१५ °C काठमाडौं
Facebook Comments