अध्यक्ष योगीद्वारा ठाकुरबाबा नगर अस्पतालको पदभार ग्रहण
हरी गुरुङ, मंसिर १, मधुवन (बर्दिया) । बर्दियाको ठाकुरबाबामा अवस्थित आधारभूत नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिरन्जीवी योगी (भावुक) ले पदभार ग्रहण गर्नुभएको छ । नगर अस्पताल सञ्चालन कार्यविधी २०७९ को दफा १० उपदफा (१) बमोजिम पत्रकार योगीलाई अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा मनोनीत गरिएको छ ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ३, नेउलापुर निवासी योगीलाई नगरपालिकाको आधारभूत नगर अस्पतालको अध्यक्षमा मनोनित गरिएको जानकारी दिनुहुँदै नगरप्रमुख तिलकराम लम्सालले नवनियुक्त अध्यक्षबाट नगर अस्पतालको सेवा प्रवाहमा थप सहजता र सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न अस्पताल सक्षम हुनेमा नगर प्रशासन विश्वस्त रहेको बताउनु भयो ।
नगरपालिका उपप्रमुख बिनाकुमारी भट्टराईले नवनियुक्त अध्यक्षबाट पालिकाको स्वास्थ्य क्षेत्रको विकासमा अमूल्य योगदान रहने अपेक्षा राख्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नवनियुक्त अध्यक्षको सामाजिक क्षेत्रमा रहेको लामो समयको अनुभवले अस्पतालको विकासमा थप टेवा पुग्नेछ ।“ पत्रकारिता पेशामा रहेर लामो समयदेखि सामाजिक क्षेत्रमा खबरदारी र पैरवीगर्दै आउनु भएका योगीको अनुभवले अस्पताललाई थप उचाइमा पुर्याउन मद्दत पुग्ने धारणा उपप्रमुख भट्टराईको छ ।
आधारभूत नगर अस्पताल सञ्चालन कार्यविधी २०७९ (चौंथो संशोधन २०८१) को दफा १० उपदफा (१) मा अस्पताल व्यवस्थापनको लागि नगरप्रमुखले मनोनीत गरेको ब्यक्ति अध्यक्ष रहने गरि व्यवस्थापन समिति गठन हुने व्यवस्था रहेको छ । सोही कार्यविधी बमोजिम मनोनित हुनुभएका अध्यक्ष योगीले सोमवार एक कार्यक्रमका बिच पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष योगीले अबको केहि महिनामा नै नेउलापुरमा निर्माण भई रहेको अस्पताल भवनबाट थप सुविधा सहित अस्पताल सञ्चालन गरिने चुरेकुञ्जलाई बताउनुभयो ।
नगर अस्पतालबाट हाल एमबिबिएस डाक्टरहरुसँगै हाडजोर्नी विशेषज्ञबाट विभिन्न सेवा प्रदान हुँदै आएकोमा दाँत, आँखा उपचार र रक्तसञ्चार सेवा थप गरी सञ्चालनमा ल्याइने उहाँको प्रतिवद्धता छ । सुरक्षित मातृशिशु अवधारण अनुसार नगर अस्पतालबाट नै सुविधासम्पन्न बर्थिङ सेन्टर समेत सञ्चालन गरिने अध्यक्ष योगीले चुरेकुञ्जलाई बताउनु भयो । सबैको साथ र सहयोग भएमा उत्कृष्ट सेवा प्रदान गर्ने उहाँले प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
रेडियो टाइगर, भुरीगाउँका प्रबन्ध निर्देशक समेत रहनुभएका योगीको पत्रकारिता क्षेत्रमा लामो अनुभव छ । उहाँ नेपाल पत्रकार महासंघ बर्दियाका निवर्तमान उपाध्यक्ष तथा हाल संघीय परिषद सदस्य हुनुहुन्छ । बर्दियाबाट उज्यालो रेडियो नेटवर्कमा समेत कार्यरत उहाँको पत्रकारिता र सामाजिक क्षेत्रको अनुभवले अस्पताल व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
१८ °C काठमाडौं
Facebook Comments