• २० चैत २०८२, शुक्रवार
  • १५ °C काठमाडौं
बढैयाताल स्थित ज्योति सहकारीको शेयर पूँजी साढे १ करोडभन्दा बढी

दलबहादुर सुनार, मंसिर ७, बढैयाताल (बर्र्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका स्थित ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छोटो समयमै उत्कृष्ट सहकारीको रूपमा पहिचान बनाउन सफल भएको छ । ०७७ सालमा स्थापना भएको सहकारीले हालसम्म करिब ७ सय शेयर सदस्यको पहुँच विस्तारगर्दै १ करोड ५० लाख रुपैयाँभन्दा बढी शेयर पुँजी निर्माणसहित सदस्य मैत्री बित्तिय गतिबिधी गरी उत्कृष्ट सहकारीको रूपमा उदाउदै गएको छ ।  

शनिबार सम्पन्न छैटौँ वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष उद्धव न्यौपानेले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको स्थापना दिवस ०७७ मंसिर ९ याद गर्दै भन्नुभयो, “छोटो समयमै सहकारीले वित्तीय कारोबारमा उल्लेखनीय प्रगति गरेको छ ।”सहकारीले सातवटै सहकारी सिद्धान्तको पालनगर्दै सदस्यको आर्थिक, सामाजिक तथा सांस्कृतिक समृद्धितर्फ उन्मुख हुने उद्देश्य लिएर काम गर्दै आएको छ । उहाँले विगतका साधारण सभाले पारित गरेका वार्षिक योजना मध्ये करिब ९० प्रतिशत लक्ष्य हाँसिल भएको जानकारी दिँदै थप्नभयो, “छरिएका साना पुँजीलाई एकीकृत गर्दै सदस्यलाई सहकारी तथा व्यवसाय सम्बन्धी तालिम, अन्तरक्रिया र मार्गदर्शन प्रदानगर्दै सहकारीलाई सदस्य–मैत्री र सुशासनयुक्त बनाउन निरन्तर प्रयास भइरहेको छ ।”

छैटौँ साधारणसभाकी प्रमुख अतिथी तथा बढैयाताल गाउँ पालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले उद्घाटन सत्रमा बोल्दै सहकारीको पारदर्शिता, शुद्धता र सञ्चालन क्षमता नै यसको सफलताको आधार हुने उल्लेख गर्नुभयो । “सहकारी जति चलायमान हुन्छ, त्यति नै प्रगतिको मार्ग स्पष्ट हुन्छ । तर पछिल्लो समय ऋण लिएर समयमा नतिर्ने प्रवृत्तिका कारण धेरै सहकारी धरासायी बन्दै गएको देखिन्छ ।” उहाँले भन्नुभयो, बढैयातालमा हाल ५७ वटा विभिन्न उद्देश्यका सहकारी संस्था सञ्चालनमा छन् । 

बाहिरबाट सबल देखिए पनि भित्री व्यवस्थापन कमजोर भएका सहकारी पनि भेटिने बताउँदै पालिकाबाट सहकारीको वास्तविक अवस्था पहिचान तथा सुधारका लागि नियमित अनुगमन बलियो बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै दिगो सहकारी विकासका लागि निरन्तर सहकारी शिक्षा तथा सदस्य अभिमुखीकरण तालिम अनिवार्य गर्नुपर्नेमा उहाँको जोड छ । कोषाध्यक्ष नारायण भुषालका अनुसार सहकारीको वित्तीय वर्ष ०८१÷८२ मा शेयर पुँजी रु १ करोड ५० लाख २२ हजार नौ सय  पुगेको छ । 

सोही वर्षमा सहकारीले रु  ६ करोड ८ लाख ६५ हजार १०८ रुपैयाँ ७८ पैसा बराबरको कारोबार गर्दै रु २० लाख ८७ हजार ५७ रुपैयाँ ८७ पैसा खुद नाफा आर्जन गरेको छ । सहकारीको जम्मा पुँजी रु ३ करोड १९ लाख ३६ हजार ७ सय ४४ रुपैयाँ ९० पैसा छ । त्यस्तै ऋण लगानी रु ४ करोड ९५ लाख ५ हजार ७ सय ३३ रुपैयाँ ०२ पैसा पुगेको कोषाध्यक्ष भुषालले जानकारी दिनुभयो । लेखा समिति सदस्य दीपक दाहालले लेखा प्रतिवेदन, संस्थाका सचिव सुशिल बस्यालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । 

सभामा समाजसेवी कलबहादुर हमाल, सितलाबजार व्यवस्थापन समितिका अध्यक्ष हरि दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ । यसवर्ष सहकारीले नियमित र धेरै नियमित बचतकर्ता १३ जना, नियमित ऋण ब्याज तथा किस्ता तिर्ने १८ जना, उत्कृष्ट ऋणी १ जना, १८ जना ज्येष्ठ नागरिक शेयर सदस्यलाई दोसल्लाद्वारा सम्मान र बालबचत कार्यक्रम अन्तर्गत १५ जना बाल बालिकालाई शैक्षिक सामग्री वितरण गरिएको सहकारीकी उपाध्यक्ष तारा अधिकारीले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार

Facebook Comments