लालिमा पुष्पकमल महिला बहुउद्देश्यीय सहकारीको कारोबार करिव ९ करोड
विन्दु चौधरी, मंसिर २७, बाँसगढी (बर्दिया) । बर्दियाको बाँसगढीमा अवस्थित लालिमा पुष्पकमल महिला बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा सहकारीले आर्थिक तथा सामाजिक प्रगतिको समीक्षा गर्दै आगामी योजनाबारे छलफल गरेको छ ।
सहकारीले गत आर्थिक वर्षमा कुल ८ करोड ८५ लाख ५१ हजार ५ सय ८३ रुपैयाँको कारोबार गरेको जनाएको छ । यस अवधिमा सहकारीले १९ लाख २१ हजार ६० रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । सहकारीको शेयर पुँजी १ करोड ४१ लाख ७२ हजार ७ सय रुपैयाँ रहेको छ, भने जगेडा कोष ५५ लाख ३० हजार ४८ रुपैयाँ पुगेको छ । सहकारीकी सहायक प्रबन्धक अनिता भट्टराईले संस्थाको आर्थिक विवरण प्रस्तुत गर्नुभएको हो । त्यस्तै, संस्थाको प्रगति प्रतिवेदन व्यवस्थापक सरस्वती बास्तोलाले प्रस्तुत गर्नुभयो ।
लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक गीता सापकोटाले र अनुगमन समितिको प्रतिवेदन अनुगमन समिति सदस्य अम्बिका ढकालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन मुख्य प्रबन्धक जुना खडकाले गर्नुभएको हो । सहकारीकी अध्यक्ष शिवकुमारी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरस्तरीय सहकारी सञ्जालकी अध्यक्ष देविसरा जैसी, विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधि र सहकारीका शेयर सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो । साधारणसभाका अवसरमा सहकारीले विभिन्न व्यक्तिहरू र समूहलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा ५ जना जेष्ठ नागरिक, ७ जना फरक क्षमता भएका व्यक्ति, मासिक उत्कृष्ट बचतकर्ता २ जना, मासिक उत्कृष्ट बाल बचतकर्ता २ जना, दैनिक उत्कृष्ट बचतकर्ता ३ जना, असल ऋणी परिचालन २ जना तथा संस्थाको विस्तारमा योगदान पु¥याउने ४ जना रहेका छन् । हाल सहकारीमा १ हजार २ सय ९९ जना शेयर सदस्य रहेका छन् भने ८ सय ३५ जना बाल बचतकर्ता छन् ।
सहकारीले शेयर सदस्यहरूका लागि सहकारी शिक्षा तालिम, कृषि, उद्यमशीलता र अर्गानिक खेती जस्ता सामाजिक कार्यहरू गर्दै आएको अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा पनि सहकारीको वृद्धि र विकासका लागि निरन्तर काम गरिनेछ । यस वार्षिक साधारणसभाले सहकारीको आर्थिक र सामाजिक अवस्थाको समीक्षा गर्दै आगामी योजनाहरू तय गरेको र सम्पूर्ण शेयर सदस्यहरूको हकहितका लागि निरन्तर काम गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।
१५ °C काठमाडौं
Facebook Comments