• २० चैत २०८२, शुक्रवार
  • १५ °C काठमाडौं
सहकारीमा सदस्य तथा सञ्चालक सबै इमान्दार हुनुपर्छ  

चुरेकुञ्ज, पुष ०५, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिकामा सहकारी व्यवस्थापन सम्बन्धी दुई दिने तालिम वार्षिक कार्ययोजना निर्माणगर्दै सम्पन्न भएको छ । सशक्तिकरण र दिगोपनामा आधारित जीविकोपार्जन सुधारका लागि सामुदायिक संगठन सवलिकरण भन्ने मूल सन्देशका साथ जनशक्ति विकासद्वारा गठित सहकारीका सञ्चालक तथा सदस्यहरूको सहकारी व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

जनशक्ति विकास समाज बढैयाताल गाउँपालिका वडा नम्बर ६, मैनापोखरको आयोजनामा, डिएफ नर्वेको सहयोग तथा सहकर्मी समाज कोहलपुरको समन्वयमा पौष २ गतेदेखि ३ गतेसम्म सञ्चालन भएको उक्त तालिममा जनशक्ति विकास कृषि सहकारी संस्थाका २५ जना सञ्चालक तथा सदस्यहरूको सहभागिता थियो । तालिममा सहकारीको अवधारणा, सहकारीका सात सिद्धान्त, बचत तथा ऋणको महत्व, बचत र ऋणको परिचालन तथा सदुपयोग, समुदायमा सहकारीको आवश्यकताका बारेमा ज्ञान दिईएको छ । 

त्यस्तै बचतका प्रकार र स्रोत, खर्च हुने क्षेत्र, ऋण लगानी प्रक्रिया, ऋणको सदुपयोग नहुँदा उत्पन्न हुने जोखिम, सञ्चालक समितिका पदाधिकारीको दायित्व तथा सहकारीमा पारदर्शिताको महत्व लगायतका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो । तालिमको सहजीकरण सहजकर्ता दल बहादुर सुनारले गर्नुभएको आयोजक संस्थाका व्यवस्थापक दिपक चौधरीले उक्त जानकारी दिनुभएको छ । संस्थाकी कर्मचारी संचिता चौधरीले बचत समूहलाई सहकारी सम्बन्धी आधारभूत जानकारी दिई सचेत पारिएको बताउनु भयो । 

बचत अभिलेख राख्ने तरिका, ऋण तथा लगानी अभ्यास, समूह सञ्चालन र आर्थिक निर्णय प्रक्रियामा सक्रिय सहभागिता बढाउने उद्देश्यले तालिम आयोजना गरिएको उहाँको भनाई छ । तालिमका सहभागी तथा कृषि समूहका अध्यक्ष भंगिराम थारुले तालिमले आफूहरूलाई उत्प्रेरित बनाएको उल्लेख गर्दै अब निष्क्रिय रहेका समूह, मूल समूह तथा जनशक्ति कृषि सहकारी अझ सक्रिय हुने विश्वास व्यक्त गर्नुभयो । सदस्यहरूले नियमित बचत तथा ऋणको सावाँ–ब्याज समयमै बुझाएमा सहकारी संस्था अझ सबल बन्ने उहाँको भनाइ थियो ।

त्यस्तै, अर्का सहभागी तथा जनशक्ति कृषि सहकारीका कोषाध्यक्ष गोपाल बि.क.ले सहकारीका सदस्यदेखि सञ्चालकसम्म सबै इमान्दार, बफादार र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो । तालिमबाट सहकारी व्यवस्थापनमा सञ्चालक समिति र शेयर सदस्यको भूमिका स्पष्ट रूपमा बुझ्न पाएको उहाँले बताउनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments