• २७ जेठ २०८३, बुधवार
  • २२ °C काठमाडौं
बर्दियाको गुलरियामा सुरक्षित अप्रवासन सम्बन्धी अन्तरक्रिया

दलबहादुर सुनार, २६ जेठ, बर्दिया । बर्दियाको गुलरियामा सुरक्षित अप्रवासन सम्बन्धी अन्तरक्रिया गरिएको छ । गुलरिया नगरपालिकाले सोमबार पत्रकारहरूसँग सुरक्षित अप्रवासन कार्यक्रमबारे अन्तरक्रिया गरेको हो ।

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित कसरी बनाउन सकिन्छ भन्ने विषयमा सञ्चारकर्मीलाई जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीमा जानेहरूको संख्या तथा जाने क्रममा ठगिएका र उद्धार गरिएका व्यक्तिहरूको विवरण प्रस्तुत गरिएको थियो । अप्रवासी स्रोत केन्द्र बर्दियाका अनुसार आर्थिक वर्ष २०८२/०८३ को जेठ ७ गतेसम्म ६ हजार ६ सय १५ जनाले पासपोर्ट बनाएका छन् । पासपोर्ट बनाउनेमध्ये सबैभन्दा धेरै मधुवन नगरपालिकाका १ हजार २९ जना रहेका छन् । 

त्यसैगरी बाँसगढी नगरपालिकाका १ हजार ५ जना, बढैयाताल गाउँपालिकाका ९ सय ६९ जना, बारबर्दिया नगरपालिकाका ९ सय ६४ जना, गुलरिया नगरपालिकाका ९ सय ४४ जना, ठाकुरबाबा नगरपालिकाका ६ सय ९९ जना, राजापुर नगरपालिकाका ६ सय १३ जना र गेरूवा गाउँपालिकाका सबैभन्दा कम ३ सय ८७ जना रहेका छन् । अप्रवासी स्रोत केन्द्र तथा उप–केन्द्रका अनुसार वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ६ हजार ६६३ जनालाई अभिमुखीकरण प्रदान गरिएको छ भने समुदायस्तरमा सञ्चालन गरिएका सचेतना कार्यक्रममार्फत २ हजार ९९ जना लाभान्वित भएका छन् ।

वैदेशिक रोजगारीका क्रममा ठगिएका व्यक्तिहरूको उजुरीका आधारमा सम्बन्धित एजेन्ट तथा संस्थाबाट १ करोड १३ लाख २८ हजार ५०० रुपैयाँ असुल गरी पीडितलाई उपलब्ध गराइएको जनाइएको छ । त्यसैगरी, आर्थिक वर्ष २०८२/०८३ को जेठ ६ गतेसम्म गन्तव्य गुलरियाका ठगीमा परेका ३ जना, नेपालमै ठगीमा परेका ३० जना, हराएका २ जना, उद्धार गरिएका ११ जना, जेलमा परेका १ जना र मेडिकल फेल भएका १ जना गरी जम्मा ४८ जना रहेको तथ्यांक प्रस्तुत गरिएको छ ।

कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका तथा जाने क्रममा ठगिएका व्यक्तिहरूलाई मनोविमर्श सेवा प्रदान गरिएको, विदेशमा मृत्यु वा अंगभंग भएका व्यक्तिहरूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिएको जानकारी रोजगार सेवा केन्द्र गुलरियाले दिएको छ । अन्तरक्रिया कार्यक्रम सावित्रा गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको महत्व र आवश्यकता बारे मुकुन्द अर्यालले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका सचिव यज्ञ प्रसाद सापकोटाले यस्ता कार्यक्रम पत्रकारहरूको सहभागितामा आयोजना गर्नु सराहनीय भएको उल्लेख गर्दै प्रस्तुतीकरणलाई अझ विस्तृत बनाउन सुझाव दिनुभएको थियो । कार्यक्रमको सञ्चालन मनोविमर्शकर्ताले गर्नुभएको थियो भने प्रस्तुतीकरण गुलरिया नगरपालिका रोजगार शाखाका अभित खड्काले गर्नुभएको जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments