बर्दियामा आत्महत्या गर्ने पुरुषको संख्या बढ्दै
विन्दु चौधरी, बर्दिया । विश्व आत्महत्या रोकथाम दिवस ‘आशा जगाऔँ जीवन बचाऔँ’ भन्ने नाराका साथ मनाइएको छ । नेपाल प्रहरीले बाँसगढी नगरपालिका लगायत जिल्लाका विभिन्न स्थानमा आत्महत्या रोकथाम र नियन्त्रण गर्न र्यालीसहित जनचेतनामूलक कार्यक्रम मार्फत दिवस मनाएको हो ।
बर्दियाको गुलरिया नगरपालिकामा जिल्ला प्रहरी कार्यालयको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा सचेतनामूलक र्याली आयोजना गरियो । जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर विष्ट, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, गुलरिया नगरपालिकाकी उपप्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी, सशस्त्र प्रहरी सीमा सुरक्षा बल गुलरिया, बगलामुखी मावि, जनज्योति मावी लगायत विभिन्न संघसंस्था सुरक्षाकर्मी सम्मिलित सचेतना र्यालीले बजार परिक्रमा गरी राधाकृष्ण चोकमा सचेतना सभा गरेको हो ।
बर्दिया जिल्लामा आर्थिक बर्ष ०७७/७८ मा महिला ७९, पुरुष ८२ गरी १५० जना, ०७८/७९ मा महिला ७१ पुरुष ९० गरी १ सय ६१ जना र आव ०७९/८० मा महिला ४५, पुरुष ७५ गरी १ सय २१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनु भएको छ । तिन बर्षको आत्महत्या तथ्यांकलाई केलाउँदा बर्दियामा आत्महत्या गर्ने महिलाको तुलनामा पुरुषहरु बढी रहेको पाईएको छ ।

सिएमसी नेपालको प्राविधिक सहयोगमा बाँसगढी नगरपालिकाका जनप्रतिनिधि, बुद्धिजीवी, नेपाल प्रहरी, शिक्षक विद्यार्थी लगायतको उपस्थितीमा विश्व आत्महत्या रोकथाम दिवस भब्यताका साथ मनाइएको छ । कार्यक्रममा सिएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले सर्वप्रथम आत्महत्या रोकथामका लागि जोखिम वर्गको पहिचान गरी प्रारम्भिक लक्षण पत्ता लगाई सहयोगका लागि तत्पर हुनुपर्ने बताउनु भएको छ । उहाँले आत्म हत्यासम्बन्धी सोच वा विचार भएकाहरुका कुरा र समस्यालाई सुन्ने र आफूले परामर्श गर्ने जस्ता कार्यले आत्महत्या रोकथाममा ठूलो सहयोग पुग्न सक्ने बताउनुभयो ।
बाँसगढी नगरपालिकाका नगर उपप्रमुुख इन्द्रिरा चौधरीले सरकारको एक्लो प्रयासले मात्र नभई सबैको सहयोगले रोकथाम गर्न सकिने बताउनुभयो । नगरपालिकाले आत्महत्या रोकथामका लागि जनचेतनामूलक कार्यक्रम कालागि पनि बजेट विनियोजन गरेकोले बाँसगढी नगर अस्पतालमा मनोपरामर्शकर्ताको ब्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले त्यस्ता व्यक्तिलाई भावनात्मक सहयोग गर्ने, परिवारजन र मित्रलाई सम्पर्क गर्नेे र मनोचिकित्सक, मनोविद्, परामर्शकर्ता कहाँ पठाउने गर्नुपर्ने बताउनु भयो । इलाका प्रहरी कार्यालय मोतिपुरको तथ्यांकका अनुसार बाँसगढीमा गत वर्ष २०७९/८० मा २५ जनाले आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा ३२ जना र २०७८/७९ मा मात्र ३७ जनाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख प्रहरी निरिक्षक शैलेश्वरी बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढि १६ वर्षदेखि २५ वर्षको उमेर समुहले आत्महत्या गरेको बताउनुभयो । पछिल्लो समय आत्महत्याका घटना बढ्नुका पछाडि मानसिक रोग, अपमान बोध, लागुऔषध सेवन, मादक पदार्थ सेवन, चरम आर्थिक नोक्सानी, असफल प्रेम जस्ता कारण मुख्य रहेको पाइएको उहाँको भनाई छ । कार्यक्रम संचालन बाँसगढी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख महेश थारुले गर्नुभएको थियो ।
२६ °C काठमाडौं
Facebook Comments