• ११ जेठ २०८३, सोमवार
  • २६ °C काठमाडौं
जब्दीघाट पुल बनाउन गुलरियाले प्रधानमन्त्रीसँग अनुरोध गर्ने

बर्दिया । पूर्व पश्चिम राजमार्गदेखि बारबर्दिया नगरपालिका हुँदै बर्दिया सदरमुकाम लगायत भारतको सीमा जोड्ने जब्दीघाट पुल निर्माणका लागि गुलरिया नगरपालिकाले प्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ । आईतबार गुलरिया नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

जब्दीघाट पुल भत्किएपछि बर्दिया जिल्ला लगायत भारत आवागमन गर्ने मानिसहरुलाई गम्भीर असर परिरहेको र हालसम्म पनि पुर्ननिर्माणको कुनै प्रकृया शुरु नभएकोले पुल निर्माण प्रकृया अघि बढाउन प्रधानमन्त्री लगायत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अनुरोध गर्ने गुलरिया नगरपालिकाले निर्णय गरेको गुलरिया नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का वडा अध्यक्ष शुधांसु प्रकाश शर्माले बताउनु भयो । पुल नबन्दा स्थानियले सास्ती ब्यहोर्नु परेको छ ।
गुलरिया नगरपालिकाले ९ वटा निर्णयहरु गरेको छ । नेपालगञ्ज गुलरिया सडकखण्डमा निर्माणाधिन फोरलेन हुलाकी मार्ग गुनपा वडा नम्बर ११ को डल्लापुर गाउँसम्म निर्माण गर्ने निर्णय भएपनि सो स्थानसम्मका ह्युमपाईप, बोर्ड हटाईई स्थानियहरुले गरेको सडक बन्दप्रति ध्यानाकर्षण भएकोभन्दै तोकिएकै स्थानसम्म तुरुन्त सडक निर्माण गर्न निर्देशन गर्ने निर्णय भएको उहाँले बताउनु भयो ।

त्यस्तै गुलरिया नगरपालिका भित्र ६ दशमलव २ किलोमिटर डिभाईडर सहितको फोरलेन सडक भएकोमा नगरभित्र ३ दशमलव १ किमी बस्ती भएको क्षेत्रभित्र हुनेगरी गजुरमुखी निर्माण सेवाले अधुरो निर्माण गरेको खण्ड समेटने गरी जिल्ला प्रहरी कार्यालय गुलरिया सम्म निर्माण कार्यलाई थप गर्न हुलाकी सडक आयोजनालाई अनुरोध गर्ने निर्णय नगरपालिकाले गरेको छ । गुलरिया नगरपालिका वडा नम्बर ४ मा भारत सरकारको सहयोगमा प्राप्त एम्बुलेन्स वडा नम्बर ४ कै आधारभुत स्वास्थ्य केन्द्र मार्फत संचालन गर्ने र सो एम्बुलेन्स संचालनबाट आएको आयबाट सेवा सुविधा उपलब्ध गराउने गरी एम्बुलेन्स चालक ब्यवस्थापन गर्ने निर्णय भएको प्रवक्ता शर्माको भनाई छ ।

विभिन्न वडाहरुबाट माग भै आएका बर्षातका कारण क्षतीहुन गएका सडकहरु प्राथमिकताका आधारमा नपाको मर्मत कोषबाट खर्चहुने गरी मर्मत प्रकृया अघि बढाउने निर्णय भएको छ । बर्षातको समयमा वडा कार्यालयबाट बढाईएका मर्मत कार्यलाई प्राविधिक सिफारिसको आधारमा मूल्यांकन गरिने भएको छ । शर्माले थप्नुभयो नेपाल विद्युत प्राधिकरणबाट गुलरिया वितरण केन्द्रले विद्युत विस्तारका क्रममा विद्युत पोलहरु राख्दा अब्यवस्थित रुपबाट सडकको क्षेत्राधिकार भित्र गाड्ने गरेकोले विद्युत पोलहरु गाड्दा गुनपाबाट निर्धारित सडक मापदण्डलाई ख्याल गरी नपासँगको समन्वयमा सडकको क्ष्ँेत्राधिकार भन्दा बाहिर पर्नेगरी विद्युतिकरण प्रकृया अगाडी बढाउन निर्देशन गर्ने निर्णय नपाले गरेको छ ।

गुनपा अन्र्तगत शहरी आयोजनाबाट पालिका भित्र विगतमा निर्माण कार्यगर्दा विविध कारणले निर्माण कार्य रोकिन गएका आयोजनाका बाँकी अंश निर्माण कार्यलाई प्राथमिकतामा राखी निर्माण कार्य अगाडी बढाउन शहरी विकास कार्यालय नेपालगञ्जलाई अनुरोध गर्ने निर्णय भएको छ । गुलरिया क्षेत्रभित्र रहेको जिल्ला अदालतको पश्चिमतर्फ रहेको खाली ठाउँमा अस्थायी रुपमा ठेलाहरुमा तरकारी बेचबिखन कार्य भएकोमा सो स्थानमा पटके कर असुली गर्न बढीमा ०८१ साल असार मसान्त सम्मका लागि ५० हजार रुपैया नघट्ने गरी पटके कर उठाउने प्रकृया अगाडी बढाउने निर्णय गरिएको प्रवक्ता शर्माले चुरेकुञ्जलाई बताउनु भयो । गुलरिया नगरपालिकाको अस्थायी किसान परिचयपत्र कार्यवित्रि ०८० लाई स्विकृत गर्ने नगरपालिकाले निर्णय गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments