खाता क्षेत्रको खेतमा लुकेको बाघ खोजिँदै
बर्दिया । मधुवनको खाता जैविकमार्ग क्षेत्र आसपास खेतमा देखिएको पाटे बाघको खोजी कार्य जारी छ । बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, एनटीएनसी बर्दिया लगायत समुदायको सहभागीतामा बाघको खोजी भैरहेको छ ।
मंगलवार बिहान मधुवन नगरपालिका बडा नम्बर ३ स्थित बिपदपुर नजिक स्थानीयको खेतमा बाघ देखे पछि त्रसिछ स्थानीयहरुले प्रहरी र मधुवन नगरपालिकालाई खबर गरेका थिए । एकाएक स्थानियको खेतमा बाघ देखिएपछि सुरक्षित स्थानमा बस्ने मधुवन नगरपालिकाले समुदायलाई आग्रह गरेको छ । गाउँको खेतबारीमै बाघ आएपछि मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले डिभिजन वन कार्यालय बर्दिया, बर्दियाका प्रमुख जिल्ला अधिकारी, बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम र प्रहरीलाई खबर गरी बाघ गाउँ छिर्न सक्नेभन्दै नियन्त्रणमा लिन अनुरोध गरेका छन् ।
केहि दिन अघि मात्र पाटेबाघको आक्रमणबाट सो क्षेत्रमा एक महिलाको मृत्यु भएको थियो । बाघ अनुगमनका लागि डिभिजन वन कार्यालय बर्दिया, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बर्दिया राष्ट्रिय निकुञ्ज र एनटीएनसीबाट हात्ती सहितको टोली खाता क्षेत्रमा परिचालन गरी खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताउनु भएको छ । बाघ रहेको क्षेत्र डिभिजन वन कार्यालय बर्दिया अन्तर्गत पर्ने जनाईएको छ ।
Facebook Comments